काम छाडेर ठेकेदार सम्पर्कविहिन भएपछि ताकममा अस्पताल भवन अलपत्र

  • २८ मंसिर २०७९, बुधबार
  • कमल खत्री
  • 631 पटक पढिएको

बेनी, २८ मंसिर ।म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ । निर्माण व्यवसायिले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधिन ५ शैया क्षमताको अस्पताल भवन योजना अलपत्र परेको हो ।

गत बर्षको हिउँददेखि नै काम छाडेका निर्माण व्यवसायि अहिलेसम्म पनि काममा नर्फकिएपछि गाउँपालिका मार्फत ताकेता गरिएको ताकमका वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो । पालिकाकै गौरवको आयोजनालाई निर्माण व्यवसायिले अधुरो र अलपत्र छाडेपछि पटक–पटक फोन र पत्र मार्फत ताकेता गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।


भवन निर्माणको लागि बिएम आइएस एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ८८ लाख ७२ हजार १३२ मा ठेक्का सम्झौता गरेको थियो । निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म अस्पताल भवनको जम्मा २० प्रतिशत भौतिक प्रगति भएको छ । ठेकेदार कम्पनीले अहिलेसम्म जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलानको डिपिसीको काम मात्रै सकेको छ ।


भवन निर्माण गर्ने समय गुजारेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावली अनुसार एक बर्षका लागि म्याद थप भएपनि अहिलेसम्म कम्पनी कार्यक्षेत्रमा नफर्किएको गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्र रावलले जानकारी दिनुभयो । कम्पनीले गाउँपालिकाबाट रु ९२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी लगिसकेको छ । ताकममा निर्माण हुने उक्त दुई तले अस्पताल भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष लगायतका संरचना रहने प्रस्ताब गरिएको छ ।    

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l