मुस्ताङमा एमालेका पाका उम्मेदवारसंग काँग्रेसका युवा उम्मेदवारको टक्कर

कोरला नाका सञ्चालनको बिषय साझा एजेण्डा

  • ३० कार्तिक २०७९, बुधबार
  • 689 पटक पढिएको

मुस्ताङ, ३० कात्तिक । प्रतिनिधिसभामा एक प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको हिमालपारीको जिल्ला मुस्ताङमा चुनाबी सरगर्मी बढेको छ । दलका उम्मेदवारहरु घरदैलो र चुनाबी सभामा जुटेका छन् । दलगत भन्दा व्यक्तिगत प्रभाब हामी हुने मुस्ताङको निर्वाचनमा युवादेखि पाकासम्मको उम्मेदवारीले रोचक मोड लिएको छ । प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ५ जना चुनाबी मैदानमा उत्रिएपनि यहाँ सत्तागठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबिच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थन पाएका काँग्रेसका २९ बर्षिय युवा नेता योगेश गौचन थकालीले निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका एमालेका ६१ बर्षिय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई चुनौति दिएका छन् । काँग्रेसका उम्मेदवार थकाली पूर्व बाणिज्यमन्त्री रोमी गौचनका छोरा समेत हुन् । २०७४ मा आफैले प्रतिस्पर्धा गरेको उम्मेदवारसंगको चुनाबि प्रतिस्पर्धामा यस पटक गौचनले आफ्नै छोरालाई अघि सारेका हुन् । थासाङ गाउँपालिका– ३ लेते घर भएका गौचन र तुलाचन नातेदार समेत हुन् ।

०७४ को निर्वाचनमा प्रेमले रोमीलाई ४८५ मत अन्तरले हराउँदै प्रतिनिधि सभामा जित हाँसिल गरेका थिए । काँग्रेसको आन्तरिक अन्तरद्धन्द्धको कारण २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा काँग्रेस छाडेर एमाले प्रवेश गरि टिकट लिएका तुलाचनले मुस्ताङमा दुई पटक चुनाब जितेका गौचनलाई मात्रै हराएनन्, जिल्लामा काँग्रेसको गढमा एमालेको प्रभाब फिजाउन समेत सफल भए । त्यस निर्वाचनमा एमालेले प्रदेशसभाका दुई वटै सिटमा समेत बिजयी हाँसिल गरेको थियो ।

यस पटक युवा र पाका नेताबिचको चुनाबी प्रतिस्पर्धामा मुस्ताङी मतदाताले कस्लाई रुचाउलान ? भन्ने आम चासोको बिषय बनेको छ । निर्माण व्यवसायको क्षेत्रबाट एमालेका तुलाचन राजनीतिमा होमिएका हुन भने काँग्रेसका उम्मेदावर गौचन पनि राजनीति संगसंगै व्यवसायमा समेत सक्रिय छन् । निवर्तमान साँसदहरुलाई नै चुनाबी मैत्रानमा उतारेको एमालेसंग प्रतिस्पर्धा गर्न गठबन्धनबाट काँग्रेसले युवा र नयाँ उम्मेदवारलाई टिकट दिएको छ । यहाँ मुख्य पार्टीका उम्मेदवारलाई चुनौति दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा २५ बर्षका सुदेश गुरुङ पनि चुनाबी मैदानमा छन् ।

प्रदेश सभा (क)मा एमालेका ईन्द्रधारा बिष्ट र गठबन्धनबाट कांग्रेसका नम्डु गुरुङबिच प्रतिस्पर्धा हुँदा, प्रदेशसभा (ख)मा काँग्रेसका विकल शेरचन , एमालेका चन्द्रमोहन गौचन र राप्रपा नेपालबाट एक्ली महिला उम्मेदवार कर्मा डोल्कर गुरुङबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । मुस्ताङमा एमालेले आफ्नो बिजयी यात्रालाई कायम गर्न चाहन्छ भने गठबन्धनबाट काँग्रेसले एमालेको बिजयी यात्रा रोक्दै गुमेको साख फर्काउन चाहन्छ । एमालेबाट प्रदेशसभामा उम्मेदवार बनेका बिष्टले यस अघि पनि प्रत्येक्षतर्फ उम्मेदवार बनेर जित हात पारेका थिए भने गौचन समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका थिए । मुस्ताङमा पार्टीको संगठनमात्रै नभएर व्यक्तिगत प्रभाब, समुदायको अपनत्वले समेत निर्वाचनमा प्रभाब पार्ने गर्दछ ।
काँग्रेसलाई गुमेको साख फर्काउन दबाब
२०७० सालअघि मुस्ताङमा नेपाली कांगेस पार्टी निकै बलियो र शक्तिशाली मानिन्थ्यो । काँग्रेसबाट रोमी गौचन थकालीले २०५६ साल र ०७० सालको प्रतिनिधि सभा निवाचनमा जितेका थिए । दुई पटक प्रत्येक्षतर्फ चुनाब जितेका उनी वाणिज्यमन्त्री समेत बनेका थिए । २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा काँग्रेसका प्रभाबशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेसंगै काँग्रेस कमजोर बन्न पुगेको थियो । यस पटक काँग्रेसलाई गुमेको साख फर्काउन दबाब छ । प्रतिनिधि सभा निर्वाचन २०७४ मा पूर्व मन्त्री गौचनले २८३२ मत पाएका थिए भने एमालेबाट सांसद बनेका तुलाचनले ३३१७ मत लिएर बिजयी बनेका थिए ।
स्थानीय तह निर्वाचनमा एमाले बलियो
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजाले मुस्ताङमा एमाले सत्ता गठबन्धन भन्दा बलियो देखिएको छ । जिल्लामा रहेका ५ वटा गाउँपालिका मध्ये एमालेले चार पालिका अध्यक्ष सहित ३ उपाध्यक्ष र काँग्रेसले एक पालिका अध्यक्ष सहित दुई उपाध्यक्ष पदमा बिजयी हात पारेका थिए । स्थानीय निर्वाचनमा अध्यक्ष पदमा एमालेका उमेदवारले कुल ४ हजार १२६ मत प्राप्त गर्दा कांग्रेसका अध्यक्षका उम्मेदवारले ३ हजार ९१ मत पाएका थिए भने उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले ३ हजार ७२० मत पाएका थिए भने काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवारले ३ हजार २२६ मत प्राप्त गरेका थिए ।
उपल्लो मुस्ताङका मतदाता बेशी झरे
चिसो बढेसंगै उपल्लो मुस्ताङका स्थानीय वेशी झरेका छन् । चिसो अत्यधिक हुने भएपछि त्यहाँका स्थानीयले चिसोबाट जोगिन र त्यस समयमा व्यापार समेत गर्न जिल्ला नै छाडेर विभिन्न ठाउँमा घुम्ती व्यापार गर्ने गर्छन । कतिपय व्यापारीहरु व्यवसायकै लागि भारतसम्म पुग्ने गर्छन् बेनी, बागलुङ, पोखरा, काठमाण्डौ लगायतका ठाउँसम्म पुगेका स्थानीयलाई उम्मेदवारहरुले चुनाबमा मतदानका लागि यातायातको बन्दोबस्त मिलाएर लैजाने गर्छन ।
कोरला नाका र पर्यटन साझा एजेण्डा
मुस्ताङका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुले विकास, पर्यटन संगसंगै कोरला नाका सञ्चालनका बिषयलाई साझा चुनाबी एजेण्डा बनाएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पूर्णता दिने, कोरला नाकालाई नियमित सञ्चालनमा ल्याउनेदेखि पर्यटनको हब बनाउने एजेण्डाहरुलाई उम्मेदवारहरुले उठाएका छन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका काँग्रेसका युवा नेता गौचनले कोरला नाका सञ्चालनको लागि कुटनीटिक पहलमा भुमिका खेल्ने देखि नाका सञ्चालनको लागि आबश्यक पर्ने पूर्वाधार निर्माण गर्ने, छुसाङदेखि नाका सम्म ग्राभेल सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्ने, जिल्लाभित्र आम नागरिकको माग बमोजिमको सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यका पूर्वाधार र सुविधाको पहुँच विस्तार गर्दै मुस्ताङलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने बिषय आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘‘काँग्रेसकै पहल र नेतृत्वमा जिल्लामा ठूला विकासका योजना भित्रिएका हुन्, अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिको कुसल नेतृत्व नहुँदा ति आयोजनाहरुले पूर्णता पाएका छैनन्, यस पटक हामी नेतृत्वमा पुगेर मुस्ताङको मुहार फेर्ने गरी विकासलाई अगुवाई गछौँ’’–उनले भने । निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका एमालेका उम्मेदवार तुलाचनले कालिगण्डकी कोरिडोर सडकलाई सम्पन्न गरि कोरला नाका सञ्चालन गर्ने एजेण्डा आफुले बोकेको बताए । ‘‘नाका सञ्चालनको लागि जग्गा प्राप्तीको काम सकिएको छ, अब डिपिआर गरि पूर्वाधार निर्माण गर्ने र अन्तरदेशीय कुटनीटिक पहल गर्ने काम गर्नुपर्नेछ’’–उनले भने । उनले जोमसोम–डोल्पा जोड्ने सडकलाई पूर्णता दिने,जिल्लाभित्रका बस्तीहरुमा वारपारका लागि पक्की पुलहरु बनाउनुपर्ने र सडकलाई स्तरीय बनाउने बिषयलाई आफुले प्राथमिकता दिने बताए । विकासका पूर्वाधार संगै मुस्ताङलाई देशकै मुख्य पर्यटनको हबका रुपमा विकास गर्ने एजेण्डालाई आफुले बोकेको बताए ।
करिब ११ हजार मतदाता
मुस्ताङमा गत स्थानीय तह निर्वाचनमा भन्दा ४७२ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय निर्वाचनमा कुल १० हजार ४८५ मतदाता रहेकोमा यसपटक मुस्ताङको कुल मतदातासंख्या १० हजार ९५७ पुगेका छन् । जसअन्तर्गत प्रदेश (क) मा ३ हजार ५४१ मतदाता र प्रदेश (ख)मा ७ हजार ४१६ जना मतदाता रहेका छन् । मुस्ताङमा रहेका २५ वटै वडामा गरि ३९ मतदान केन्द्र र एक अस्थायी मतदान स्थल तोकिएको छ ।
हेलिकप्टर मार्फत ल्याईयो मतपत्र
मुस्ताङका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री हेलिकप्टर मार्फत ढुवानी गरि ल्याइएको छ । निर्वाचन आयोगले नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री ल्याएको हो । यस्तै मनाङमा जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा र मुख्य निर्वाचन अधिकृतको कार्यालयको टोलीलाई मतपत्र, मतदाता परिचयपत्र र निर्वाचन सामग्री बुझाएका छन् । मुस्ताङका मुख्य निर्वाचन अधिकृत इश्वर पराजुलीले मुस्ताङका लागि चाहिने मतपत्र, मतदाता परिचयपत्र लगायतका सामग्री प्राप्त भएको र आवश्यक सुरक्षा बन्दोबस्त मिलाएर भण्डारण गरिएको जानकारी दिए ।
सीमावर्ती क्षेत्रका मतदान स्थलको निरीक्षण
मुस्ताङको सीमावर्ती क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्रको अनुमगन तथा निरीक्षण गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहितको सुरक्षा टोलीले मुस्ताङको सीमावर्ती क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्रको निरीक्षण गरेका हुन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा पर्ने मतदान स्थल र मतदान केन्द्रको अनुमगन गरिएको प्रजिअ शर्माले जानकारी दिए । मतदान स्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौती, यातायातको पहुँच, मतदातालाई पर्ने असुविधा लगायतको अवस्थाबारे निरिक्षण गरिएको जनाइएको छ ।