म्याग्दीमा मतदानस्थलको संवेदनशिलताको आधामा सुरक्षा तयारी

  • १७ कार्तिक २०७९, बिहीबार
  • 399 पटक पढिएको

 

म्याग्दी, १७ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका मतदानस्थललाई संवेदनशिलताको आधारमा बर्गिकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ८२ मतदानस्थल मध्य १५ वटालाई अति संवेदनशिल, ५८ वटालाई संवेदनशिल र ९ वटालाई सामान्य समुहमा राखेर सुरक्षा तयारी गरेका छन् ।

प्रहरी नायव उपरिक्षक तिलक भारतीले मतदान स्थलको संवेदनशिलताको आधारमा सुरक्षा योजना बनाईएको जानकारी दिए । “मतदान पुर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना तयार छ ।” उनले भने । “नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका जनशक्ति र म्यादी प्रहरी परिचालन गरिने छ ।”

भौगोलिक अवस्था, सञ्चार र यातायातको सुविधा, विगतका चुनावमा भएको घटनाको आधारमा मतदानस्थलहरुलाई बर्गिकरण गरिएको छ । यसैगरि चुनाव बहिस्कारको घोषणा गरेको नेत्रविक्रम चन्द(विप्लप) नेतृत्वको नेकपाको प्रभाव क्षेत्रलाई पनि सुरक्षाका दृष्टिले संवेदनशिल मानिएको छ । धवलागिरि गाउँपालिकाको वडानम्वर १ मा पर्ने गुर्जाको जनकल्याण मावि, वडानम्वर ४ को धवलागिरी आधारभूत विद्यालय बगर र चन्द्रज्योती माविको मतदान केन्द्रमा यातायातको सुविधा पुगेको छैन् । रघुगंगा गाउँपालिका–८,घ्यासीखर्कमा संचार सुविधा पुगेको छैन् ।

निर्वाचन सरक्षाका लागि म्याग्दीमा ७३२ जना म्यादी प्रहरी भर्ना भएका छन् । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने गरी नक्साङ्कन गरिएको छ ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ११९ वटा मतदान केन्द्र छन् । एक प्रतिनिधि र २ प्रदेशसभा निर्वाच क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन जना पदका लागि १९ जना उम्मेदवारको प्रतिस्पर्धामा छन् । जिल्ला कुल मतदाता ८६ हजार १२० जना रहेका छन् । प्रदेश १ मा ४८ हजार ४७२ जना र प्रदेश २ मा ३७ हजार ६४८ जना मतदाता रहेका छन् ।