आजदेखि चुनाव प्रचारप्रसार, आमसभा गर्न पाइने

  • १७ कार्तिक २०७९, बिहीबार
  • 531 पटक पढिएको

 

म्याग्दी, १७ कात्तिक । चार मंसिरमा हुन लागिरहेको चुनावमा आजदेखि प्रचारप्रसार गर्न पाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि विहिबारदेखि उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएका छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।

आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउँदैनन् ।

आयोगले आचारसंहिता उल्लंघन नगरी र खर्चको सीमाभित्र रही चुनाव प्रचार गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई स्मरण गराएको छ ।