एमालेको पिप्ले र मुदीमा घरदैलो

  • १७ कार्तिक २०७९, बिहीबार
  • 465 पटक पढिएको

 

म्याग्दी, १७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । हिमाली जिल्ला म्याग्दीमा पनि नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन् ।

भोलि (बिहीबार)देखि खुला आमसभा तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन गर्न पाइने भएपछि आज (बुधवार)सम्म भने राजनीतिक दल तथा तिनका उम्मेदवारहरुले घरदैलो र मतदाता भेटघाट एवं टोल, वस्तीमा पुगेर भेला गरेका थिए ।

यसैक्रममा नेकपा एमाले म्याग्दीले बुधबार रघुगंगा गाउँपालिका–३, पिप्लेको विभिन्न टोल तथा वस्तीस्तरमा पुगेर घरदैलोमार्फत मतदातालाई भेटघाट गरी भोट मागेको जनाएको छ ।
एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहित एमाले नेता, कार्यकर्ताहरुको टोलीले घरदैलो कार्यक्रममार्फत एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट मागेको थिए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक बिखर्चीको सहभागिता रहेको थियो ।

यसैगरी प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल र प्रदेश सभा (ख) निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले मुदीको विभिन्न टोलमा पुगेर घरदैलो गरी मतदातालाई भेटेर भोट मागेका छन् ।