धौलागिरि हिमालको आधार शिविर

  • ९ कार्तिक २०७९, बुधबार
  • 501 पटक पढिएको

म्याग्दी, ७ कात्तिक । राउण्ड धौलागिरि पदयात्रालाई प्रचार प्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीवासीहरुको समूह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो ।

धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवर्धनका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङको प्रतिनिधिमूलक टोलीले सामूहिक पदयात्रा गरेको हो । बेनीदेखि एक साताको पदयात्रामा आधार शिविर पुगेको टोलीले पर्यटन सम्भावनाको अध्ययन अवलोकन गरेर फर्केको छ ।

धौलागिरि हिमालको फन्को मारेर मुस्ताङको लेते निस्कने लक्ष्य थियो मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले भन्नुभयो ‘मौसम प्रतिकूलताका कारण आधार शिविरसम्म पुगेर फर्कियौं । आधार शिविरसम्म पुग्नु पनि हाम्रा लागि चुनौतीपूर्ण थियो ।’

प्राकृतिक रुपमा सुन्दर क्षेत्र रहेको उहाँले बताउनुभयो । प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभाव देखिएकाले प्रचार प्रसारमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । आधार क्षेत्रसम्म व्यवस्थित पदमार्ग निर्माण, भौतिक पूर्वाधार निर्माण, पर्यटकका लागि आवास र सञ्चारको सुविधाको व्यवस्था गर्न सकेमा धौलागिरि पदयात्रामा विश्वभरका पर्यटक ल्याउन सकिने उहाँले बताउनुभयो ।

बेनीदेखि मोना हङकङमा आबद्ध १० जना सहित सञ्चारकर्मी, पथप्रर्दशक र सहयोगी समेत गरी ३२ जनाको टोलीले धौलागिरि आधार शिविरतर्फ प्रस्थान गरेकामध्ये केही इटाली नागरिक आधार शिविरबाट फर्किएका थिए । आधार शिविरसम्म अध्यक्ष पुन र उहाँकी पत्नी मनु पुन तथा पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर र उहाँकी पत्नी लक्ष्मी एलजी थापा मगरसहित पत्रकार अमृत भादगाउँलेको साथमा पदप्रदर्शक र भरिया समेत गरी २३ जना पुगेका थिए ।

प्राकृतिक रुपमा मनोरम धौलागिरि पदमार्ग सम्भावनाको हिसाबले उत्कृष्ट गन्तव्य बन्न सक्ने टोलीमा सहभागी पथप्रदर्शक छिरी राईले बताउनुभयो । झरना, हिमाल, वनजङ्गलको अवलोकन गर्दै पदयात्रा गर्दा निकै रोमाञ्चक महसुस भएको उहाँले बताउनुभयो । स्थानीय तह लगायतका सरोकारवाला निकायहरुले यस क्षेत्रको विकासमा जोड दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।