चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल

  • ७ कार्तिक २०७९, सोमबार
  • 375 पटक पढिएको

बागलुङ, ७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गर्नुभएको छ । निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उहाँले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनुभयो ।

तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ प्रणाली सुधार्ने र विकास, निर्माणका नयाँ अभियान शुरु गर्ने मन्त्री पौडेलले उल्लेख गर्नुभयो । उहाँले संविधानको प्रस्तावनामा उल्लेख भएअनुसार समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । “उत्पीडित, श्रमजीवी वर्गको हित र उत्थानसँगै नागरिकलाई गाँस, बास, कपास, रोजगारीलगायतको ग्यारेन्टी राज्यले दिने समाजवादी प्रणाली अबको लक्ष्य हुनुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो । बागलुङ–२ बाट उम्मेदवार बन्नुभएका मन्त्री पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो । उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको राजनीतिक प्रणाली गुम्ने खतरा पैदा भएपछि दलहरूबीच गठबन्धन बनेको स्पष्ट पार्नुभयो ।