पर्वतमा फेरि दोहोरिने गिरीको दाउ, हारको बदला लिने जोशीको योजना

  • ५ कार्तिक २०७९, शनिबार
  • 483 पटक पढिएको

राजन पौडेल
पर्वत ४ कात्तिक,। प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको पर्वतमा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । विगतको नतिजा र गत वैशाखमा भएको स्थानीय तह चुनावको मतपरिणामलाई विश्लेषण गर्दा नेकपा एमालका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । जोशी र गिरीले २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो र गिरीले चुनाव जितेका थिए, जोशीको विजययात्रा रोकिएको थियो ।


पाँचौं पटक उम्मेदवार बनेका जोशीले त्यसअघि २०५६ सालको संसदीय चुनाव हुँदै २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभा चुनाव जितेका थिए । तर बाम गठबन्धनका कारण २०७४ सालको चुनावमा बने जोशी पराजित हुन पुगे । त्यसैले यसपटक उनी आफ्नो पुरानो जितको श्रृङ्खला उल्ट्याउने दाबी गर्छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पटकपटक संविधानमाथि प्रहार गरेका कारण त्यसको रक्षाका लागि आफू गठबन्धनको साझा उम्मेदवार बनेको दाबी गर्ने उनी गठबन्धनकै मतका आधारमा चुनाव जित्ने बताउँछन् । भन्छन्, ‘संविधानको रक्षाका साथै विकास तथा पूर्वाधारलाई जोड दिँदै जनताले शुद्ध पिउने पानी पाउनुपर्छ, सडक पूर्वाधार बन्नुपर्छ भन्ने मुद्दा लिएर जनताको घरदैलोमा पुगेको छु ।’

एमालेका गिरीसँग झण्डै १२ हजार ४५६ मतान्तरले पराजित भएका जोशी यसपटक गठबन्धनको साथ रहेकाले त्यतिनै मतान्तरले जित्ने दाबी गर्छन् ।२०७४ को चुनावमा गिरीले ३९ हजार २७५ मत ल्याएर विजयी हुँदा जोशीले भने २६ हजार ८१९ मत प्राप्त गरेका थिए ।

एमाले उम्मेदवार गिरी जोशीको दाबीलाई स्वीकार्दैनन् र चुनाव आफूले जित्ने ठोकुवा गर्छन् । नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका काम र राष्ट्रियताको मुद्दामा लिएको अडानका कारण यसपटक नागरिकले एमालेलाई अनुमोदन गर्ने विश्वास गिरीको छ ।

संघीय सांसद हुँदा सुरु गरेका तर पूरा नभएका योजना पूरा गर्न फेरि उम्मेदवार बनेको बताउने गिरी भन्छन्, ‘पूरा हुन नसकेका अधुरा कामलाई पूरा गर्ने जिम्मा पर्वतेली जनताले मलाई नै दिनुहुन्छ भन्नेमा ढुक्क छु ।’ संघीय संसदमा आफूले खेलेको भूमिकालाई पर्वतका मतदाताले न्याय गर्ने बताउँदै उनी जित दोहो¥याउने दाबी गर्छन् ।

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको ग्यारेण्टी, गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्ध गर्ने र शहरमै बस्नुपर्छ भन्ने सोच परिवर्तन गर्न गाउँघरमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाका साथ मतदातामाझ पुगेको उनी बताउँछन् ।स्थानीय तहको मतका आधारमा एमाले अघि स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा पर्वतमा एमाले अघि देखिन्छ । यहाँ नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारले कुल ३५ हजार ७१६ मत पाएका थिए ।

जुन २०७४ को संसदीय चुनावमा गिरीले पाएको भन्दा साढे ३ हजार कम हो । तर यो मत गठबन्धनमा आवद्ध दलका वडाध्यक्षले पाएको भन्दा झण्डै ५ सय मत धेरै हो । स्थानीय चुनावमा कांग्रेसले २९ हजार ३४४, नेकपा माओवादी केन्द्रले ५ हजार ३ सय ६, नेकपा एकीकृत समाजवादीले ५४६ र राष्ट्रिय जनमोर्चाले ८ मत पाएको छ ।