मतदाता भेट्न उम्मेदवार पुग्न थाले खेतवारीमा

  • ४ कार्तिक २०७९, शुक्रबार
  • 471 पटक पढिएको

बेनी, ४ कात्तिक : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । विहानेदखि बेलुकिसम्म नै कोदो काट्न कृषकहरु वारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतवारी सम्मै पुग्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला घरदैलो अभियानमा छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरुको प्रचार प्रसार अभियानको लागि सभा, समारोह, आम सभा गर्नका लागि मतदान हुने दिन अघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा छन् । म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बन्नुभएका माओवादीका हरि भण्डारी र (ख)मा उम्मेदवार बन्नुभएका रेशम जुग्जाली सहित निर्वाचन प्रचार प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

प्रदेशसभा क अन्तरगतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीहरुमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गर्वुजा र प्रदेश सभा सदस्य पदका उम्मेद्वार भण्डारीको टोलीले घरदैलो गरिरहनुभएको छ । जिल्ला स्तर, दुबै प्रदेश सभा क्षेत्र र ६ वटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाब प्रचार प्रसार समिति गठन र उम्मेदवार सहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मुल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले जानकारी दिनुभयो ।

गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार जुग्जाली सहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका–१ गुर्जा पुगेका छन् । मालिका गाउँपालिकाभित्रका सबै वडाहरुमा चुनाब प्रचार प्रसार समिति गठन गरि अभियानको सुरुवात गरेको टोलीले धवलागिरी गाउँपालिकाको सबैभन्दा बिकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो । टोलीमा प्रदेश सभा ख का संयुक्त निर्वाचन प्रचार प्रसार समितिका संयोजक टंकप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता श्रीप्रसाद रोका लगायत सहभागी हुनुहुन्छ ।

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेले समेत घरदैलो अभियान चलाएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीको टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट सुरु गर्नुभएको छ । एमालेको यस टोलीले रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट गरेका छन् । जिल्लामा राप्रपा, नेश्नल मंगोल अर्गनाइजेशन लगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुले समेत घरदैलो अभियान चलाएका छन् ।

आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने तयारी भैरहेको छ । दलहरुले प्रचार प्रसार गर्ने मुख्य अवधिमै स्थानीय तह मार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभाका दुई गरि प्रत्येक्ष तर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनाबी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा छ जना उम्मेदवार बनेका छन् ।