खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

  • ४ कार्तिक २०७९, शुक्रबार
  • 487 पटक पढिएको

पोखरा ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए ।

चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुद लगायतका प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै भने “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तराष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।”

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी संख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको भन्दै प्रधानमन्त्रीले “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएकोमा छ हजार भन्दा बढी खेलाडीले ३९६ स्वर्ण लगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए” उनले भने ।

खेलले अन्तराष्ट्रिय खेलमा सहभागिताका लागि हौसला मिल्यो ः मन्त्री गहतराज
नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौंमा देखिएका समस्यालाई दशौंमा सुधार गर्ने बताए । उनले नवौं खेलकुदले धेरै कुरा सिकाएको र यसलाई खेलकर्मी तथा पदीय जिम्मेवारीमा बसेकाले पनि ख्याल गर्नुपर्नेमा जोड दिए ।

यो प्रतियोगिताले विभिन्न विधाका खेलाडीहरूले स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै उच्च मनोवलका साथ प्रतिस्पर्धामा सहभागी भई पदक प्राप्त गर्ने तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने काम समेत भएको उनले सुनाए ।

नवौंबाट प्राप्त ज्ञान, सीप र क्षमताले आगामी दिनमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपस्थिति अझ सशक्त हुनेमा आफु आशावादी रहेको बताए । खेलकुद क्षेत्रको २० वर्षे गुरुयोजना निर्माण तथा खेल विश्वविद्यालय स्थापनाको चरणमा रहेको उनले सुनाए ।

दशौ राष्ट्रिय खेलकुद कर्णालीमा हुने घोषणा सहित नवौंको समापन
दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे ।

यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ्ग ट्रफी समापन समारोहका प्रमुख अतिथी प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतीलाई प्रदान गरे । १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक सहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पिन बन्न सफल भएको हो ।

समापन समारोहका विच प्रतियोगिताका दौरान दुर्घटनामा परि निधन भएका पाराग्लाईडिङ्गका खेलाडी निसिम थापाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।

औपचारिक रुपमा असोज २८ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद भब्य रुपमा सम्पन्न भएको छ । समापनका अवसरमा विविध साँस्कृतीका कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजी समेत गरिएको थियो ।

नवौं खेलकुदमा आर्मीको जित, प्रदेशमा गण्डकी प्रथम

विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रिय पुरा गरेको हो ।

आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो ।

६५ स्वर्ण ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक सहित शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो स्थानमा रह्यो (एपिएफले जिम्न्यास्टिकमा २ स्वर्ण हासिल गरेको थियो), ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक सहित नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरु मध्य पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १ सय २० पदक सहित समग्रमा थौचो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक सहित पाँचौं स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदक सहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ । मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेश प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो ।

सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाण्डौंमा भएको थियो ।

समापन कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नवौंले खेलाडीहरूको खेल कौशललाई अझै निखारेको बताएका छन् । गण्डकीमा भएको नवौं खेलकुदको अनुभव र अध्ययनबाट देखिएका समस्यालाई कर्णालीमा हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सुधार गर्ने बताए ।