म्याग्दीका उम्मेदवारहरुको ‘विकास पूर्वाधार’ मुख्य चुनाबी एजेण्डा

  • २९ आश्विन २०७९, शनिबार
  • 581 पटक पढिएको

बेनी, २९ असोज : मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरुले म्याग्दीलाई विकास र समृद्धि दिलाउने एजेण्डा अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित साँसदले नियमित बजेट बाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आम गुनासो भैरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताहरुले विकास र समृद्धिलाई ने प्रमुख एजेण्डा बनाएका छन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्वुजाले नेकपा एमालेले पटक–पटक म्याग्दीको नेतृत्व गर्दा समेत जिल्लाको विकासमा कुनै उपलब्धि हाँसिल गर्न नसकेको भन्दै यस पटक गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्ने बताउनुहुन्छ । ‘‘ म्याग्दीमा दिगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौँ, जनताको विकासप्रतिको चाहनालाई पुरा गर्ने एजेण्डा लिएर आएका छौँ’’–उहाँले भन्नुभयो ।

जिल्लाभरका सडकको अवस्था जिर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्था समेत सुधार गर्नुपर्ने भएकाले आफुले भौतिक पूर्वाधार र शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको सुधारको लागि आवश्यक पहल गर्ने उहाँको भनाई छ । सत्ता गठबन्धनको मुख्य प्रतिस्पर्धि दल नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण र कृषिलाई आत्मनिर्भर र व्यवसायिकरण गर्ने एजेण्डाहरु लिएर उम्मेदवार बनेको बताउनुभयो ।

सदरमुकाम देखि पालिका जोड्ने सडक कालोपत्रे गर्ने, जिल्लामा सुस्त गतिमा रहेका गौरवका योजनाहरुलाई पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्नतर्फ आफुले प्राथमिकता दिने श्रेष्ठले बताउनुभयो । प्रदेश सभा सदस्यका मुख्य प्रतिस्पर्धीहरुले समेत नीति निर्माणदेखि विकास निर्माणलाई आफ्नो चुनाबी एजेण्डा बनाएका छन् । प्रदेशसभा (क)मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका हरि भण्डारी र (ख) का रेशम जुग्जाली (सुविन) ले समेत विकास निर्माण योजना भित्र्याउन गण्डकी प्रदेश सरकारसंग बलियो पुलको भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उम्मेदवारद्धय भण्डारी र जुग्जालीले जिल्लाका आम नागरिकले विकास र समृद्धिको क्षेत्रमा जिल्लाको पहुँच नपुगेको अनुभुति गर्ने गरेको भन्दै त्यसलाई क्षतिपूर्ति हुने गरि नागरिकका आधारभुत विकासका चाहना पुरा गर्नेतर्फ आफूहरुको प्राथमिकता रहेन बताउँछन् । यता नेकपा एमालेबाट प्रदेशसभा (क) का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख) का उम्मेदवार यामबहादुर गर्वुजाले नीति निर्माण तहमा शसक्त र प्रभाबकारी भूमिका संगै जिल्लाको विकासका एजेण्डाहरुलाई अघि सार्नुभएको छ ।

सडक, भवन लगायतका पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार र खानेपानीको पहुँच विस्तार योजनालाई आफुले प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार केसीको भनाई छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका हरिबहादुर खत्रीले अहिलेसम्म चुनाब जितेका नेताहरुले सडक, बाटो, विद्यालय बनाउँछौँ भनेर जनतालाई धोका दिएको बताउँदै युवा पुस्ताको आवश्यकता अनुसारको विकासलाई अघि बढाउने योजना सहिच आफु चुनाबमा होमीएको बताउनुभयो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभाका दुई गरि प्रत्येक्ष तर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनाबी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा छ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।