काँग्रेस नेता महतद्धारा स्वतन्त्र उमेद्वारी फिर्ता, गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा

  • २६ आश्विन २०७९, बुधबार
  • 607 पटक पढिएको

 

बेनी, २६ असोज । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।

पार्टीका नेताहरुको प्रतिवद्धता, जिल्लाका नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुको आग्रह अनुसार बर्षौदेखिको योगदान रहेको पार्टीको निर्णय विपरित नजान आएको सुझाब बमोजिम उमेद्वार फिर्ता लिने निर्णय लिएको महतले बताउनुभयो । पार्टीले आफ्नो त्याग र योगदानको उपेक्षा गरेको भन्दै महतले आइतबार स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको थियो ।

महतको योगदानको कदर र उहाँको उचित सम्मान गर्ने नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी)ले बताउनुभयो । उहाँले बुधवार बसेको काँग्रेस म्याग्दीको बैठकले समेत महतको योगदानको कदर गर्दै उहाँलाई उचित अवसर दिन पार्टीले भुमिका खेल्ने बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका पुर्व सहसभापति रहेका बेनपा–१ रत्नेचौरका महत म्याग्दीमा पुराना काँग्रेस नेताका रुपमा चिनिनुहुन्छ । उहाँले अघिल्लो प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा पनि स्वतन्त्र मनोनयन दर्ता गरेर फिर्ता लिनुभएको थियो । गठबन्धनका तर्फबाट म्याग्दीमा प्रतिनिधिसभामा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क) मा माओवादीका हरि भण्डारी र क्षेत्र (ख) मा माओवादीकै रेशम जुग्जाली (सुविन) उमेद्वार बन्नुभएको छ ।