चौतारी संरक्षणमा जुट्दै म्याग्दीका स्थानीय तह र समुदाय
- १० आश्विन २०७९, सोमबार
- 1077 पटक पढिएको
म्याग्दी १० असाेज । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्ति पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अङ्ग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेंसी,गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो, गर्मीमा दौतरी बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधि यस्ता सम्पदाको संरक्षणमा जुटेका हुन् ।
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट, बेनी नगरपालिका–७ बेनी, बेनपा–६, मालिका–२ बेली, मालिका–३ रुम, मङ्गला गाउँपालिकाको अर्मन, अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका विभिन्न वडामा चौतारी संरक्षण अभियान नै सञ्चालन भएको छ ।
गाउँघरमा मोटर बाटो लैजाने होडका कारण ग्रामीण जीवनको मौलिकता र त्यसबाट प्राप्त आनन्द दुवै हराउँदै गएपछि समुदाय नै चौतारी पोखरीको संरक्षण र नयाँ निर्माणमा लागेपछि अहिले यहाँका कैयौँ गाउँमा नयाँ चौतारी निर्माण गरिनुका साथै वर,पीपलसमेत लगाइएको छ ।
भरियाको भारी बिसाउने ठाउँ, बटुवाको थकान बिर्साउने ठाउँ, युवायुवतीको माया प्रेम दर्शाउने ठाउँ, पाका व्यक्ति सुस्ताउने ठाउँ, गोठाला र फुर्सदिला व्यक्ति भेला भएर बागचाल खेली दिन बिताउने ठाउँ हो चौतारी । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारी बिर्सिंदै जान थालिएको अवस्थामा पुनःचौतारी संरक्षण अभियान सुरु भएपछि ग्रामीण क्षेत्रको सौन्दर्य मुस्कुराउन थालेको छ ।
मान्छे हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व कम हुन थाल्यो । तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने म्याग्दीको वातावरण संरक्षणकर्मी एवं वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रममणि सापकोटाले बताउनुभयो ।
त्यसैगरी धर्मप्रसाद उपाध्यायले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पीपलसँगै (नजिकै) रोपिने हुँदा वरपीपलको बीचबाट हिँड्न नमिलेर दाँहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा एवम परम्परागत चौतारोकोे विशेषता भएको जानकारी दिनुभयो ।
म्याग्दीको बेनी नगरपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले चौतारी संरक्षण र निर्माणका लागि गत आर्थिक वर्षमा वडा कार्यालयबाट करिब पाँच लाख बजेट नै विनियोजन गरेर वडाका १४ ठाउँमा चौतारी मर्मत र निर्माण गरिएको बताउनुभयो । त्यसैगरी बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बेनीबजारका विभिन्न ठाउँमा रहेका ऐतिहासिक चौतारीको पुनःनिर्माण गरेर चिटिक्क बनाउनुभएको छ ।