जनसम्पर्क समितिका सभापति केसीद्धारा परराष्ट्र मन्त्री खड्काको ध्यानकर्षण

  • ८ आश्विन २०७९, शनिबार
  • 539 पटक पढिएको

काठमाण्डौ ८, असोज । परराष्ट्र मन्त्री डा. नारायण खड्काले पोर्चुगलमा विद्यमान नेपाली राहदानीको समस्या दशैं तिहारपछि समाधान हुने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलका सभापति वकिल केसीसँगको भेटमा उनले यस्तो बताएका हुन् । शनिबार समितिका सभापति केसीले एक ज्ञापनपत्र बुझाउँदै पोर्चुगलमा जारी राहदानी समस्याको बारेमा मन्त्री खड्कालाई जानकारी गराएका थिए । जवाफमा मन्त्री खड्काले कम्तिमा एक महिनाभित्र फ्रान्सस्थित राजदूतावासबाट पोर्चुगलमा टोली पठाएर राहदानीको समस्या समाधान गर्ने बताएका छन् ।

समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न माध्यमबाट पोर्चुगल छिरेका सयौं नेपाली दाजुभाई तथा दिदी बहिनीहरुसँग राहदानी नभएको, कतिपयको म्याद सकिएको जस्ता अनेकौं समस्या छ । पोर्चुगलमा पछिल्लो समय अस्थायी अनुमति बसोबास पत्र (टिआरसी) को प्रक्रिया ढिलाई भएकोले राहदानी नभएका र म्याद सकिएका नेपालीलाई समस्या भएको छ । त्यसैले मन्त्री ज्यू र मन्त्रालयले यसप्रति चासो राखिदिन अनुरोध गर्दछौं ।’

फ्रान्सस्थित राजदूतावासलाई समेत बोधार्थ गरिएको ज्ञापनपत्रमा कुनै झन्झट विनानै पोर्चुगलमा रहेका नेपालीहरुको राहदानी नविकरणदेखि नयाँ नयाँ जारी गर्नेजस्ता सबै काम अघि बढाउन मन्त्री खड्काको ध्यानाकर्षण गरिएको छ । मन्त्रीसँगको भेटमा सभापति केसीले बिशेषगरी नयाँ आउने र कागजात नभएका नेपालीहरुलाई फ्रान्सस्थित राजदूतावासमा जान समस्या भएको भन्दै यथाशिघ्र सघाउन आग्रह गरेका छन् । सो क्रममा आफुले यसप्रति चासो राखेकोले तुरन्तै राजदूतसँग कुराकानी गर्ने बताएका छन् ।

यसअघि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगल र महाबाणिज्य दूतको कार्यालयले राहदानीको सहजीकरण गर्दै आएका थिए । तर सरकारले विद्युतीय राहदानी बनाउन सुरु गरेपछि यो प्रक्रिया रोकिएको छ । पछिल्लो समय युरोपियन युनियनको सदस्य राष्ट्रबाहेक अन्य मुलुकबाट अबैधानिक रुपमा पोर्चुगल छिर्ने नेपालीहरुले यस क्षेत्रका दलालहरुको लहैलहैमा लागेर राहदानी छोड्ने र बाटोमै फ्याँकेर आउनेहरुको संख्या बढ्दो छ । जसका कारण धेरै नेपालीले सास्ती खेप्नुपरेको छ ।