नदीले सडक कटान गरेपछि बेनी जोमसोम सडक अवरुद्ध

  • २३ असार २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 8072 पटक पढिएको

म्याग्दी २३ असार । कालीगण्डकी नदीमा आएको बाढीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउपालीका ६ मा पर्ने भिरकाटेमा काली गण्डकीले करिब एक सय मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा शुक्रबारदेखि सिधा यातायात सेवा अवरुद्ध भएको हो ।

पहाडको फेदी र नदीको किनारमा रहेको सडक संरक्षणका लागि लगाइएको पक्कि पर्खाल भत्काएर कटान गरेपछि सिधा सवारी सञ्चालन हुन नसकेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

पैदलयात्रीहरु समेत भिरको घुमाउरो र जोखिमयुक्त बाटो प्रयोग गरेर आवत जावत गर्नुपर्ने अवस्था रहेको छ । वि.स २०६९ मा सुनारीखोला र कालीगण्डकीले कटान गरेपछि सो स्थानमा करिब तिन महिना सडक अवरुद्ध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल नेतृत्वको टोलीले घटनास्थलको स्थलगत निरिक्षण गरि बस्तुअवस्थाको बारेमा जानकारी लिएको प्रनाउ खड्काले बताउनुभयो । सडक अवरुद्ध हुदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउपालीकाका बासिन्दा, मुस्ताङ जाने आउने पर्यटक तथा तिर्थयात्री समस्यामा परेका छन् । उत्तरी म्याग्दीका कृषकले उत्पादन गरेको आलु निकासीका साथै खाद्यान्न, निर्माण सामाग्री ढुवानीमा समस्या उत्पन्न भएको छ ।

यसैगरी बर्षासंगैको बाढी पहिरोका कारण म्याग्दीका अधिकांश सडकहरु अवरुद्ध बनेका छन् । ग्रामिण बस्तीको सदरमुकामसंग सिधा सम्र्पक बिच्छेद भएको छ ।

सन्तोष गौतम