म्याग्दीमा ८ वटा मतदानस्थल थपियो,८६ हजार १२० मतदाता कायम

  • २ आश्विन २०७९, आईतवार
  • 895 पटक पढिएको

म्याग्दी, २ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८ वटा नयाँ मतदान स्थल थपिएको छ । जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले गरेको सिफारिस बमोजिम निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो ।
भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा ८ वटा मतदानस्थल थपेर कुल ८२ मतदानस्थल पुगेको छ भने ५ वटा मतदान केन्द्र थपेर कुल ११९ वटा केन्द्र पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेले बताउनुभयाे । धवलागिरी गाउँपालिकाको वडानम्वर ४ मुदीको बगर र वडानम्वर ७ को धारापानी, मंगला गाउँपालिकाको वडानम्वर १ को पुर्णगाउँ र वडानम्वर ५ को सिर्कुम, रघुगंगा गाउँपालिकाको वडानम्वर २ को खौरेट (राममन्दिर) र वडानम्वर ३ को पातल्ना (हिमालय आधारभूत विद्यालय), अन्नपूर्ण गाउँपालिकाको वडानम्वर ६ पोखरेबगर र वडानम्वर ८ को काफलडाँडामा नया मतदानस्थल थपिएको छ ।

आयोगले म्याग्दीमा ८६ हजार १२० मतदाता कायम गरेको छ । स्थानीय तहको निर्वाचनपछि नया मतदाता थप र अधावधिक मार्फत ७४५ जना नयाँ मतदाता थपिएका छन् । जिल्लामा पुरुष ४२ हजार ५५ जना, महिला ४४ हजार ६४ जना रहेका छन् । प्रदेशसभा निर्वाचनतर्फ क मा ४८ हजार ४७२ मतदाता र ख मा ३७ हजार ६४८ जना मतदाता रहेका छन् । गत बैशाखको स्थानीय निर्वाचनमा जिल्लामा ८५ हजार ३७५ मतदाता रहेकोमध्ये ५६ हजार ४५६ जनाले मतदान गरेका थिए ।