पहिरोले १३ जनाको मृत्यु, अझै १० बेपत्ता

  • १ आश्विन २०७९, शनिबार
  • 433 पटक पढिएको

अछाम १ असोज । अछाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । अझै १० बेपत्ता छन् भने १० जनालाई उद्धार गरिएको छ । पहिरोले कमलबजार नगरपालिका–८ मा पाँच जनाको मृत्यु भएको छ । उनीहरुको पूर्ण विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । उनका अनुसार कलमबजारकै वडा नम्बर ६ ठाँटीखाँदमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । उनीहरु सबैको शव भेटिएको छ । त्यहाँ अझै तीन जना बेपत्ता छन् भने ७ घाइतेको उद्धार गरिएको छ ।

त्यस्तै गएरातीको पहिरोमा परि वेपत्ता भएका जिल्लाको तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाचौर गाँउकी १६ वर्षीया विमला शाही र जानकी शाहीको शव पनि भेटिएको छ ।विमला पहिरोमा वेपत्ता रहेका नेत्रबहादुर शाहीकी छोरी हुन् भने जानकी मिनबहादुर शाहीकी छोरी हुन् । उनीहरु दुबै नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् । त्यहाँ अझै ७ जनाको शव भेटिन सकेको छैन् ।

स्थानीयले उनीहरुको खोजी गररहेका छन् ।स्थानीय नेत्रबहादुर शाही र उनकी श्रीमती मनीषा शाही तथा रितबहादुर शाही (रिठे) की दुई बुहारी भावना र कमला शाही तथा उनकी दुई नातिनी र छोरा सुन्दर शाही रहेका छन्। रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका छन् भने अन्य सबै रोजगारीका लागि भारतमा रहेका छन् ।

नेत्र र रितबहादुर शाही दुबैका घरहरुमा पूर्ण रुपमा पहिरोले क्षति गरेको छ भने पहिरोले गाउँ नै जोखिममा छ । अहिले फेरि पानी पर्न सुरु भएकाले अन्य घर समेत पहिरोमा पर्ने जोखिम बढेको स्थानीय टोपेन्द्र शाहीले बताए । उद्धारका लागि प्रहरी परिचालन गरिएपनि घटनास्थल निकै टाढा रहेकाले समयमा पुग्न समस्या भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

अछामकै ढकारी गाँउपालिका–१ मा निरन्तरको वर्षाका कारण घर भत्किँदा एक बालिकाको मृत्युको छ सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए । त्यहाँ अन्य तीनजना सामान्य घाइते भएका छन् । निरन्तरको वर्षाले जिल्लाकै ढकारी गाँउपालिका–६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा ९बैदार० को घर भत्किँदा उनका एक नातिको च्यापिएर मृत्यु भएको छ । घटनामा घरमुली बैदार,उनकी एक बुहारी र अर्का नाति पनि घाइते भएको स्थानीय मानबहादुर बुढाले जानकारी दिए ।