माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छ : प्रचण्ड

  • ३० भाद्र २०७९, बिहीबार
  • 463 पटक पढिएको

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुने र त्यो गत वर्षको परिस्थितिले पनि देखाएको बताए । प्रचण्डले कहिलेकाहिं आफु सौभाग्यशाली कि अभागी भन्ने लाग्ने गरेको बताए ।

राजनीतिको केन्द्र अहिले पनि माओबादी बन्दा आफुलाई जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव प्रचण्डले सुनाएका छन् । जनयुद्धको बेलामा भन्दा अहिले बढी मिहिनेत गर्ने गरेको भन्दै उनले पार्टीका नेता(कार्यकर्ताहरुलाई पार्टीलाई बलियो बनाउन अलि मिहिनेत गर्न आग्रह गरेका छन् । माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार स्पष्ट रहेको भन्दै प्रचण्डले स्थानीय चुनावबाट देशलाई कता लैजाने भन्ने चाबी माओवादीको हातमा पुगोस भन्ने जन चाहना स्पष्ट देखिएको बताए । उनले जनमत माओवादीकै पक्षमा भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा तराई मधेसमा स्थानीय तह निर्वाचनका क्रममा अपेक्षा गरे अनुसार उपलब्धि हुन नसकेको बताउंदै विधिसम्मत र प्रक्रियागत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यस्तो उम्मेदवारलाई व्यक्तिको रुपमा नहेरेर पार्टीको रुपमा हेरेको भए माओवादीको जितलाई कसैले रोक्न नसक्ने प्रस्ट पारेका छन् ।

सबैले इमान्दारीपूर्वक मेहनत गरेमा माओवादी आसन्न निर्वाचनमा कम्युनिस्टहरु मध्ये पहिलो राजनीतिक शक्ति हुने उनको दावी थियो। प्रचण्डले माओवादी कमजोर भएमा २०६२(०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने खतरा देखिएको भन्दै हालसम्मको राजनीतिक परिवर्तनको रक्षाका लागि माओवादी पार्टी बलियो हुनुपर्ने र चुनाव जित्नुपर्ने बताए ।
उनले अघि भने, ‘यो परिवर्तनको रक्षा गर्न र यसलाई अगाडि बढाउन माओवादी पार्टी बलियो बनाउन अत्यन्त जरुरी रहेको छ । माओवादी कमजोर भयो भने अब परिवर्तनको रक्षा गर्न धेरै गाह्रो हुन्छ । हामीले व्यक्तिगत हितलाई नभई पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने निर्वाचनमा माओवादी केन्द्र बलियो शक्ति बन्ने बताए ।

माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व सम्भव थिएन । प्रचण्डले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो ।