विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित

  • १७ भाद्र २०७९, शुक्रबार
  • 739 पटक पढिएको

म्याग्दी १७ भदाै । म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्ताँैसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो । स्थानीय तह, राजनीति दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा विसं २०७६ मा जारी भएको मेला–महोत्सव सञ्चालनसम्बन्धी कार्यविधिविपरीत विद्यालयमा पठनपाठन बन्द गरेर मेला सञ्चालन गर्ने क्रम बढेको छ ।

अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा देउराली युवा क्लबले साउने सङ्क्रान्ति पर्वका अवसरमा सञ्चालन गरेको मेलाका कारण नौ दिन पठनपाठन रोकिएको थियो । जनैपूर्णिमा पर्वका अवसरमा अन्नपूर्ण गाउँपालिका–५ को शिख माविमा मेला सञ्चालन गर्न सात दिन पठनपाठन बन्द भएको थियो । बेनी नगरपालिका–१० वाखेतको घारसुन्ना युवा क्लबको आयोजनामा गत हप्ता विद्योदय आधारभूत विद्यालय परिसरमा हरेलो र वडा नं ५ को द मनसुन युवा क्लबको आयोजनामा बालजागृति आधारभूत विद्यालय परिसरमा तीजपर्वका अवसरमा चुत्रेनीमा खेलकुद मेला सञ्चालन भएको थियो ।

धवलागिरि गाउँपालिका–७ को ताकम माविमा बुधबारदेखि तीजपर्वका अवसरमा खेलकुद र सांस्कृतिक मेला सञ्चालन भएको छ । स्थानीय युवा क्लबको आयोजनामा विद्यालय परिसरमा सञ्चालित मेलाका कारण विद्यालयको पठनपाठन ठप्प हुने गरेको छ । प्रायः सबै बस्तीमा आयोजना हुने मेलाजात्रा विद्यालय परिसरमा पठनपाठन नै ठप्प पारेर आयोजना हुने गरेका छन् ।

विद्यालयमा राजनीतिक दल, सङ्घसंस्थाले कुनै बाहनामा विद्यालय बन्द गराउन नपाउने, विद्यालयमा राजनीतिक तथा अन्य शैक्षिक वातावरण प्रभावित हुने गतिविधि नगर्ने भनिए पनि ‘विद्यालय शान्ति क्षेत्र’ को शर्तविपरीत विद्यालयको पठनपाठन नै बन्द गरी मेलाजात्रा लगाउने प्रचलन बढ्दै गएको छ । विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गर्दा पठनपाठनको वातावरण नहुने र विद्यार्थी खेल्न जाँदा उनीहरुको पढाइ छुटेर पाठ्यक्रम पूरा गर्न तथा सिकाइ उपलब्धिमा असर परेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माविका प्रअ ठकराज पुन (प्रदीप)ले बताउनुभयो ।

“विद्यालयको कक्षा कोठामा भट्टीपसल राखेर जाँडरक्सी व्यापार कहिलेसम्म गर्ने रु मेलाजात्राको समय घटाऔँ । मेला गर्ने नै भए पनि विद्यालय बाहिर स्थान खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “शैक्षिक पात्रोअनुसार त्रैमासिक परीक्षासमेत प्रभावित हुने गरी विद्यालयमा मेला लाग्दा शिक्षक/विद्यार्थीको पीडा, मेलाजात्रा लाग्ने स्थानको विकल्प खोजौँ । मदिरा व्यापारीले मेलाजात्रा लम्ब्याउन प्रेरित गर्ने गरेका छन् । अब मेलाजात्राको शैलीमा परिवर्तन आवश्यक छ ।”

धार्मिक, सांस्कृतिक तथा खेल क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै आयोजना गरिने मेला÷जात्रा बालविवाहको अखडा, मदिरामय र लम्मेतान हुँदा गाउँको सुरक्षा, अर्थतन्त्र र शैक्षिक वातावरण खलबलिएको भन्दै तीन वर्षअघि जिल्ला प्रशासन कार्यालयले मेला तथा महोत्सवसम्बन्धी २२ बुँदे मापदण्ड निर्माण गरी स्थानीय पालिका, प्रहरी, राजनीतिक दल, व्यवसायीसमेत सर्वपक्षीय भेलाबाट अनुमोदन गरेको थियो ।

स्थानीय तहका जनप्रतिनिधिले मेला अवधि छोट्याउन, सुरक्षा व्यवस्थापन गर्न र पठनपाठनमा असर नपार्न क्लबका पदाधिकारीसँग छलफल गरेको बताएका छन् । कार्यविधि कार्यान्वयनका लागि धवलागिरि गाउँपालिकाले भदौ पहिलो हप्ता युवा क्लबका पदाधिकारीसँग छलफल गरेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । अन्य स्थानीय तहका जनप्रतिनिधिले खेलकुदका लागि विद्यालयभन्दा फरक ठाउँमा खेलमैदान बनाउने र एकवटा वडामा वर्षमा एकवटा मात्र मेला सञ्चालन गराउन पहल गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले मेला सञ्चालन गर्न अनुमति लिने क्रम बढेको जनाउँदै उनीहरुलाई कार्यविधि पालनामा जिम्मेवार बन्न सचेत बनाएको जनाएको छ । स्थानीय तहहरूसँग छलफल गरेर कार्यविधि कार्यान्वयनमा कडाइ गर्ने प्रयास गरेको प्रजिअ चिरञ्जीवी रानाले बताउनुभयो । कोरोना महामारीका कारण यसअघिका दुई वर्ष मेला महोत्सव सञ्चालन भएका थिएनन् । यस वर्ष मेलाजात्रा आयोजना गर्ने क्रम बढेको छ । रासस