थकाली समितिको अध्यक्षमा गजेन्द्र तुलाचन चयन, सबै केन्द्रीय सदस्य निर्विरोध

  • १७ भाद्र २०७९, शुक्रबार
  • 661 पटक पढिएको

जोमसोम १७ भदौ । थकाली सेवा समिति नेपाल (केन्द्र) काे अध्यक्षमा गजेन्द्र तुलाचन निर्विरोध चयन भएका छन्। मुस्ताङमा बिहिबार सम्पन्न १३ औ महाधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित गरेको हो । महाधिवेशनबाट काठमाडौं क्षेत्रका तुलाचनलाई आगामी ३ वर्षीय कार्यकालका लागि निर्विरोध चयन गरिएको हो।

केन्द्रअन्तर्गत कुल २३३ जना महाधिवेशन प्रतिनिधिमध्ये तुलाचनको मात्र एकल उम्मेदवारी परेको थियो। यसअघि चितवनमा भएको ११औं महाधिवेशनमा झिनो मतान्तरले उनी अध्यक्ष पदमा पराजित भएका थिए। यसपटक भने उनी सर्वसम्मत भएका हुन्।

समितिको संशोधित विधान २०७५ अन्तर्गत भूगोल र क्षेत्रगत समावेशीताको आधारमा भएको निर्वाचनमा १९ क्षेत्रका २६ जना केन्द्रीय सदस्य निर्विरोध भएको निर्वाचन समितिका संयोजक डा. ज्योति शेरचनले जानकारी दिए। डा.शेरचनका अनुसार महाधिवेशनले काठमाडौं क्षेत्रबाट ५,पोखराबाट ३, बुटवलबाट २, थासाङबाट २ दुई जना र जोमसोमबाट, दाना तातोपानी, वुर्तिवाङ, बेनी, दरवाङ, बाग्लुङ, भरतपुर, मुग्लिङ, भैरहवा, नेपालगञ्ज, बिरेठाँटी, कुस्मा, गल्कोट र स्याउलीवाङबाट एकएक जना केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका हुन्।

यस्तै महाधिवेशनले समितिको केन्द्रीय सभा सदस्यमा १३ जनालाई निर्विरोध चयन गरेको छ। निर्वाचन समितिको संयोजक डा। ज्योति भट्टचन र सदस्यहरू ज्ञानेन्द्र शेरचन, राजु गौचन र मिनबहादुर गौचनले सहजीकरण गरेका थिए।

थकाली सेवा समितिका नवनिर्वाचित अध्यक्ष गजेन्द्र तुलाचनले सन्तुलित र क्षमतावान व्यक्तिको छनौट गरी कार्यसमितिलाई पूर्णता दिने बताए। उनले थकाली समुदायको उत्थान, कलासंस्कृति र मौलिकताको संरक्षण, संगठन सुदृढीकरण र समग्र थकाली समुदायको उत्थान र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए। महाधिवेशनले विधान संशोधन समिति गठन गरेको छ। समितिले १९ वटै क्षेत्रबाट प्राप्त सुझावलाई लिपीवद्ध गर्दै विधान संशोधन गर्ने अधिकार समितिलाई प्रदान गरेको छ।

अधिवेशनले ३ वर्षे कार्यकालमा भएका कार्यप्रगति, आर्थिक प्रतिवेदन, विधान संशोधन र सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। थकालीहरुको उद्गमस्थल थाक सात सय क्षेत्रको कोवाङमा भएको महाधिवेशनले थकालीहरुलाई एकतावद्ध रुपमा अघि बढाउन ऊर्जा प्रदान गरेको पूर्व महासचिव रवीन्द्र शेरचनले उल्लेख गरे। थकाली सेवा समितिको माध्यमबाट थकालीहरुको धर्मसंस्कृति र मौलिकतालाई जगेर्ना गर्ने सन्देश प्रवाह गरेको बताए।