भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

  • ११ भाद्र २०७९, शनिबार
  • 899 पटक पढिएको

 

मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवम् कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न भदौ १३ देखि १५ सम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

यसै गरी मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि भदौ १३ देखि १६ सम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ । मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहयोग गरिदिनु हुन आयोगले मतदातालाई अनुरोध गरेको छ ।