वर्षाले अवरुद्ध बेनी–जोमसोम सडक ३६ घण्टापछि खुल्यो

  • ७ भाद्र २०७९, मंगलवार
  • 455 पटक पढिएको

जोमसोम ७ भदौ : आइतबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी–जोमसोम ७६ किमी सडक भर्खरै सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण उत्तरी कोरलानाका जोड्ने बेनी-जोमसोम राष्ट्रिय राजमार्ग अन्तर्गत म्याग्दी खण्डको एक दजर्न स्थानमा बाढी-पहिरो र नदी कटानले सडक अवरुद्ध बनेको थियो।   आइतबार राति परेको अविरल वर्षाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित जलथले, गुईठे, तितर, दाना, लाटा खोला, रुप्से झरना र काभ्रेभीर लगायतका स्थानमा सडक अवरुद्ध भएको थियो। वर्षाले कतिपय स्थानमा सडक हिलाम्मे बनेको थियो भने कतिपय स्थानमा पहिरोले सडक पुरिएर क्षति तुल्याएको थियो।

वर्षाले अवरुद्ध बनेसँगै दुई दिनदेखि बेनी–जोमसोम ७६ किमी सडकको सिधा सम्पर्क टुटेको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई निकै सास्ती भएको थियो। यस्तै, मुस्ताङमा उत्पादित कृषिजन्य उत्पादन स्याउ, आलु र गाँजर ढुवानीमा समेत समस्या परेको थियो।                ‍सडक अवरुद्ध भएपछि बेनी–जोमसोम सडकखण्डको प्याकेज–२ मा सडक निर्माणको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीको सडक खन्ने ४ वटा उपकरण प्रयोग गरी सडकको पहिरो पन्छ्याउनुको साथै सडक मर्मत गरी सवारी आवागमन पून: सञ्चालनमा आएको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।  वर्षाले सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधन गन्तव्यमा प्रस्थान गरेको सुपरभाइजर शेरचनले उल्लेख गरे।