पालिकाले बनाउन सकेनन् आफ्नै पाठ्यक्रम

  • २ भाद्र २०७९, बिहीबार
  • 449 पटक पढिएको

म्याग्दी २ भदाै । संविधानले स्थानीय तहलाई आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिएको छ । जिल्लाका नगरपालिकाले उक्त अधिकार प्रयोग गर्न सकेका छैनन् । साधनस्रोत बढी भएर पनि नगरपालिका पाठ्यक्रम बनाउने अभियानमा पछि परेका हुन् । बरु आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिका अगाडि देखिएका छन् । पाठ्यक्रममा तमानखोला पहिलो भयो । त्यसपछि ताराखोला र बरेङ गाउँपालिकाले पनि पाठ्यक्रम बनाएर लागू गरे । तमानखोलाले ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म पढाउन थालेको हो ।

आगामी वर्ष कक्षा ५ सम्मको पाठ्यक्रम लागू गर्ने तयारी भएको गाउँ शिक्षा अधिकारी पूर्णबहादुर घर्तीले बताउनुभयो । ताराखोला गाउँपालिकाले पनि गत शैक्षिकसत्रबाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो । ताराखोलाको पाठ्यक्रममा स्थानीय उत्पादन र मगर संस्कृतिबारे बढी सामग्री सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । बरेङ गाउँपालिकले पनि चालु वर्षदेखि पाठ्यक्रम लागू गरेको बताएको छ । बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

“मौलिक ढङ्गको पाठ्यक्रम बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, क्रमशः पाठ्यक्रम बनाउने योजना छ ।” स्थानीय चाडपर्व, कला, संस्कृति र पालिकाको परिचयलाई पाठ्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो । तीनवटै पालिकाले पहिलो चरणमा मस्यौदा बनाए । त्यसमा विज्ञ समूहको छलफलमार्फत निष्कर्षसमेत निकालेपछि पाठ्यक्रमलाई अन्तिम रुप दिएका थिए । बडीगाडमा छिट्टै पाठ्यक्रम बनाएर लागू गर्न तयारी भएको अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । अन्य गाउँपालिकामा पनि मस्यौदा लेखनको काम भइरहेको र त्यसपछि छलफल गरेर अन्तिम रुप दिने योजना जनप्रतिनिधिले सुनाए । सदरमुकामस्थित बागलुङ नगरपालिकामा भने अझै स्थानीय पाठ्यक्रमको सुरसार छैन ।

गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाले पनि पाठ्यक्रममा प्रगति गर्न सकेको छैन । साधनस्रोत धेरै भए पनि नगरपालिका तहमा स्थानीय पाठ्यक्रमबारे चासो नै नभएको अभिभावकले बताए । “सबैभन्दा दुर्गमको तमानखोलाले गर्नसक्ने काम सदरमुकाममा किन भएन ?”, स्थानीय सुजन परियारले भन्नुभयो, “कर्मचारी र जनप्रतिनिधिमा केही गरौँ भन्ने भावना भएन भने कुरा ठूला हुन्छन् ।” अन्य काममा पनि जिल्लाका नगरपालिकाभन्दा गाउँपालिका अगाडि देखिएको उहाँले बताउनुभयो । तयारी गरेकाले पनि काम फत्ते गर्न सकेका छैनन् । मस्यौदा बनाएको बागलुङ नगरपालिकाले पाठ्यक्रमको पुस्तिका तयार गर्न सकेको छैन । “विभिन्न छलफल र कार्यशालामार्फत प्रारम्भिक मस्यौदा बनाएका छौँ”, बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भन्नुभयो, “पाठ्यपुस्तक बनाउने बजेट नभएर रोकिएका हौँ ।” गत आर्थिक वर्ष बजेट नपाएर रोकिएको काम अब आर्थिक अधिकार आएपछि गरिने उहाँले बताउनुभयो ।

त्यसका लागि केकति बजेट विनियोजन छ भन्ने उहाँले खुलाउनुभएन् । जैमिनी नगरपालिकामा अहिलेसम्म पाठ्यक्रमबारे सुरसार छैन । पाठ्यक्रम तयारी समिति मात्रै गठन भएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताउनुभयो । “चालु वर्ष दुई लाख ५० हजार बजेट पनि छ अब हामी लाग्छौँ”, आचार्यले भन्नुभयो, “आगामी वर्षदेखि कम्तीमा कक्षा १ को भए पनि पाठ्यक्रम लागू गर्छौं ।” गलकोटमा पाठ्यक्रमबारे सामान्य छलफल भएको छ । ढोरपाटन नगरपालिकामा पनि सुरसार छैन । “पाठ्यक्रममा पालिकाभित्रका सबै वडा, ती वडाका महत्वपूर्ण उत्पादन, धार्मिक र पर्यटकीयस्थल तथा ऐतिहासिक पात्र समावेश गर्नुपर्ने सुझाव आएको छ”, गलकोट नगर प्रमुख भरत शर्मा गैरेले भन्नुभयोे, “बालमैत्री नगर बनाउने तयारीमा छौँ, अब नयाँ पाठ्यक्रम पनि बनाएर आगामी वर्ष लागू गर्छौं ।”