गुरुङलाई महासचिव बनाउने प्रस्ताव, पुन र शर्मालाई उपमहासचिवमा व्यवस्थापन

  • २ भाद्र २०७९, बिहीबार
  • 523 पटक पढिएको

 

नेकपा माओवादी केन्द्रका दुई नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा अर्का नेता देव गुरुङले बाजी मार्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको प्रस्ताव गर्दा विभिन्न विकल्पहरुमध्ये नेता गुरुङलाई महासचिवको प्रस्ताव गर्नसक्ने नेताहरुले बताएका छन् । बेलुका ६ बजे बस्ने बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गर्नेछन् ।

यसअघि बुधबार बसेको बैठकले पार्टी पदाधिकारीको प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई अख्तियारी दिएको थियो । सोही अनुसार प्रचण्डले गुरुङलाई समेत महासचिव बनाउनेगरी प्रस्ताव तयार पारेको माओवादी नेता हरिबोल गजुरेलले बताए । ‘विभिन्न प्रस्ताहरुमध्ये गुरुङलाई महासचिव बनाउनेगरी प्रस्ताव आउन सक्छ, त्यो पनि एउटा विकल्प हो’, गजुरेलले भने । स्थायी समिति सदस्य जनार्दन शर्मा र वर्षमान पुन महासचिवमा कडा प्रतिस्पर्धा भएपछि प्रचण्डले तेस्रो विकल्पको रुपमा गुरुङलाई अघि सारेको बुझिएको छ ।

यस्तै महासचिवका दाबेदार शर्मा र पुन सहित स्थायी समिति सदस्य गिरिराजमणि पोखरेललाई उपमहासचिवमा व्यवस्थापन गर्नेगरी प्रस्ताव आउन सक्ने माओवादी नेताहरुको भनाई छ । ‘पार्टी पदाधिकारी आफ्नो अनुकुल हुनेगरी प्रस्ताव गर्नुस् भनेर अध्यक्ष प्रचण्डलाई हामीले भनेका थियौ । उहाँले विभिन्न विकल्पमा महासचिव प्रस्ताव तयार गर्नु भएको थियो । ती विकल्प मध्येबाट गुरुङ जीलाई महासचिवको प्रस्ताव तयार गरियो भन्ने छ’ अर्का एक स्थायी समिति सदस्यले भने,‘अध्यक्ष प्रचण्डले अब बस्ने स्थायी समिति बैठकमा महासचिवमा गुरुङ सहित सबै पदाधिकारी प्रस्ताव गर्ने तयारी छ ।’

अध्यक्ष प्रचण्डले आधिकारिक रुपमा गुरुङको नाम प्रस्ताव गरी नसकेकाले पुनः फेरबल समेत हुन सक्ने ति नेताको भनाई छ । वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठको नाम पक्कापक्की जस्तै भएको छ । अरु सिनियर नेताहरु उपाध्यक्षमा र दोस्रो तहका नेताहरु सचिवमा हुनसक्ने बताएको छ ।