मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

  • १५ श्रावण २०७९, आईतवार
  • 803 पटक पढिएको

म्याग्दी १५ साउन । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।
‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्घीयतामा सुशासनः सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन, हाम्रो अभियान’ भन्ने मूल नारासहित शहिद मनोज–झपेन्द्र स्मृति दिवसमा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले जनाएको छ ।
कार्यक्रमको अवसरमा नेपाल निजामति कर्मचारी सङ्गठनले गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकलाई लक्षित गरेर चामल ३ बोरा, नुन १० केजी, आलु १० केजी, खानेतेल ६ पोका, दाल ५ केजीसहित कुल नौहजार रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको जनाइएको छ ।

उक्त खाद्यान्न सामग्रीहरु नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य लिला गौतम, जिल्ला अध्यक्ष सोमबहादुर केसी र निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसी र ज्येष्ठनागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुनलाई हस्तान्तरण गर्नुभएको थियो । वडाध्यक्ष केसी र व्यवस्थापन समिति अध्यक्ष पुनले मन्तव्य राखेको कार्यक्रम निजामति कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष भोलानाथ आचार्यको स्वागत र सहसचिव कलादेवी रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।