चौर देखि आफनै भवनसम्म कसरी पुग्यो गौमुखी सहकारी 

  • १० श्रावण २०७९, मंगलवार
  • 551 पटक पढिएको

थम्मन थापा
बागलुङ १० साउन  । कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट आफनो यात्रा तय गरेको उक्त वित्तिय संस्था अहिले २ करोड १० लाख पूँजीमा कारोबार गरिरहेको छ ।
कृषि सहकारी मार्फत सेयर सदस्यहरुलाई विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको सहकारीले प्रत्येक वर्ष सेयर सदस्यहरुलाई निशुल्क तरकारीको विउ बिजन वितरण गर्नुका साथै कृषकलाई ५० % अनुदानमा प्लाष्टिक टनेल उपलब्ध गराउँदै आएको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड सञ्चालक समितीका अध्यक्ष शिव कुमारी खत्रीले बताईन । कृषकहरुको जीवन स्तरमा कृषि सहकारी मार्फत विभिन्न सेवाहरु प्रवाह गरि आर्थिक समृद्वि र उत्पादनमा जोडन सहकारीले विविध कृयाकलापहरु गर्दै आईरहेको अध्यक्ष खत्रीले जानकारी दिईन ।
महिला सेयर सदस्यहरुको बाहुल्यता रहेको सहकारीले हजार दिनका सेयर सदस्य आमाहरुलाई ९० % अनुदानमा मौरी सहित घार वितरण गरिसकेको छ भनें सहकारीले आफनै गाडी खरिद गरेर यातायातको क्षेत्रमा समेत आफना सेयर सदस्यहरुलाई १०% छुट सहित सेवा प्रवाह गरिरहेको सहकारीका सचिव श्यामसुन्दर श्रेष्ठले बताए । वि. सं २०६४ सालमा स्थापना भएको सहकारीले यसभन्दा पहिला हटिया बिच बजारबाट भाडाको कार्यालयबाट सेवा दिदैं आएकोमा यस आर्थिक वर्षदेखि साउन १ गतेबाट हटिया सिमखेतमा जग्गा खरिद गरेर भवन निर्माण गरि सेवा प्रारम्भ गरेको छ । नयाँ भवनबाट विद्युतिय प्रणाली मार्फत अत्याधुनिक सेवा र मोवाईल एसएमएस सेवा समेत उपलब्ध गराउन थालेको सहकारीका प्रवन्धक खिम बहादुर साहानीले जानकारी दिए ।
सहकारीले गलकोट नगरपालिका वडा नं ६ जामुनेमा विगत ४ वर्षदेखि गौमुखी कृषि फार्म सञ्चालन गरि कृषकहरुलाई सुपथ मुल्यमा तरकारी उपलब्ध गराउँदै आएको छ । त्यस्तै आफना सेयर सदस्य रहेका कृषकहरुलाई समय समयमा कृषि तालिम समेत प्रदान गर्दै आईरहेको छ । गलकोट नगरपालिकालाई सेवा क्षेत्र बनाएर सञ्चालनमा रहेको सहकारीले छिट्टै हटिया सिमखेतमा कृषिजन्य वस्तुको हाट बजार सञ्चालन गर्ने तयारी गरिरहेको छ । सहकारीमा अहिले १ हजार ८ सय सेयर सदस्य र ७ सय बाल बचतकर्ता र १० जना कर्मचारी रहेका छन । संस्थाले कृषि क्षेत्रमा विभिन्न गतिविधी गर्दै सेयर सदस्यहरुलाई कृषि, व्यवसाय लगायतका उत्पादनशिल क्षेत्रमा जोडदै सहजीकरण गर्न ऋण लगानी र बचतको कामलाई समेतलाई निरन्तरता दिंदै आएको छ ।