खुकुरी प्रहार गरेर श्रीमती मारे, तीन तला माथी बाट भाग्न खोज्दा खसेर श्रीमानको पनि मृत्यु

  • ९ श्रावण २०७९, सोमबार
  • 685 पटक पढिएको

भरतपुर, ९ साउन ।  चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती १०: २५ बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

श्रीमतीको हत्या गरेर तीन तला माथिबाटै हाम फालेर भाग्न खोज्दा श्रीमान कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । कृष्णप्रसादले आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०:४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताए । तीन तलाबाट हाम फाल्दा घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको हो ।