स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान

  • २२ असार २०७९, बुधबार
  • 513 पटक पढिएको

धु्रवसागर शर्मा
म्याग्दी २२ असार । म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्याउनुभएका भएका शिक्षाप्रेमी समाजसेवी पदमबहादुर खत्रीको पहिलो वार्षिक स्मृति दिवस मनाउँदै वहाँले गर्नुभएका कार्यहरुको स्मरण सहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।


सोही कार्यक्रममा स्व. खत्रीलाई जीवन्त व्यक्तित्वका रूपमा चित्रण गर्दै वहाँको जीवनीमा आधारित “समाजसेवी पदमबहादुर खत्री” (गीतिकाव्य) पुस्तकका लेखक अजयमिलन श्रेष्ठ र पुस्तकका सम्पादक चिरञ्जीवी शर्मालाई सम्मान गरिएको थियो । लेखक श्रेष्ठले २०७८ मंसिरमा श्रेष्ठले लेखन एवम् प्रकाशन गर्नुभएको “म्याग्दीका चम्किला तारा” जीवनी सङ्ग्रह पुस्तकमा समेत स्व. खत्रीको जीवनी समाहित गरी वहाँको सामाजिक भू्मिका र योगदान अभिलेखन गर्नुभएको थियो ।
स्व. पदमबहादुर खत्रीको लोकतान्त्रिक योगदान एवम् जनहितकारी सामाजिक कार्यलाई जनसमक्ष ल्याउने ऐतिहासिक कार्यका निम्ति उल्लिखित भूमिकाको उच्च मूल्याङ्कन गर्दै “स्व. पदमबहादुर खत्रीको पहिलो वार्षिक स्मृति दिवस”मा आयोजित स्मृति कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

यसैगरी म्याग्दी कांग्रेसद्वारा प्रकाशित “कर्मशील पदमबहादुर खत्री“ (व्यक्तित्व विशेष) पुस्तकको सम्पादन गर्नुभएका चिरञ्जीवी शर्मालाई पनि उक्त भू्मिकाका लागि सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस, म्याग्दीका उपसभापति केबि भण्डारीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । गीतिकाव्यका प्रकाशक खत्री परिवार र व्यक्तित्व विशेषका प्रकाशक नेपाली कांग्रेस, म्याग्दीलाई समेत आभारपत्र प्रदान गरिएको सो कार्यक्रममा स्व. पदमबहादुर खत्रीको सामाजिक योगदान र भूमिकाको चर्चा गरिएको थियो । वि.सं.१९८५ कार्तिक २४ गते जन्मनु भएका खत्रीको गत वर्ष २०७८ असार २० गते निधन भएको थियो । स्व. खत्री तत्कालिन बाबियाचौर गाउँ पञ्चायतको प्रधानपञ्च र साविक गाविसका दुवै स्थानीय निकायबाट निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। वहाँ जनाधार युक्त स्वच्छ छविका जनप्रतिनिधि हुनुहुन्थ्यो।