कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिन पाँच दलीय गठबन्धन : खड्का

  • २९ जेष्ठ २०७९, आईतवार
  • 453 पटक पढिएको

बागलुङ २८ जेठ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन्। कांग्रेस बागलुङले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रतिगमनको विरुद्ध र कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा हुन नदिनका लागि अहिलेको गठबन्धन गरिएको बताएका हुन्।

कम्युनिष्ट पार्टीसँग सहकार्य नगरे उनीहरु एक हुँदा एमाले हाबी हुने र संविधान नै धरापमा पर्ने भएकाले माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग सहकार्य गरिएको उनले बताए। कम्युनिष्टहरुबीच द्वन्द्व बढ्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताउँदै उनले स्थानीय तह निर्वाचनको परिणामबारे उल्लेख गरे।

‘कम्युनिष्ट मिले भने कांग्रेसलाई सकाउने खेल खेल्छन्। उनीहरुविच द्वन्द्व बनायौं भने कांग्रेसलाई नै फाईदा हुन्छ। हेर्नुस् त स्थानीय तहको निर्वाचनले नै देखायो नि,’ खड्काले भने,‘भर्खर सम्पन्न निर्वाचनमा गठबन्धन ग¥यौं हामीलाई नै फाईदा भयो। कहिल्यै नजित्ने वडा र पालिकामा पनि अहिले कांग्रेसको जनप्रतिनिधि छन्। यो फाईदा त काँग्रेसले लियो नि हैन रु गठबन्धनको मर्म सबै नेता कार्यकर्ताले बुझनुपर्छ।’ गठबन्धन गरेकै कारण कांग्रेस अहिले ०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो भएको खड्काले बताए।

उनले तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया खल्बल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम्त्याउने गतिविधि गरेका कारण पनि पाँच दलीय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गरे। पूर्वगृहमन्त्रीसमेत रहेका खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलगायतका दलहरूसँग गठबन्धन कायम रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री स्व। सुशिल कोईरालाले बाचा गरेको संविधान संसोधनको प्रस्तावलाई बहुमतले परित गरिने बताए।

‘गठबन्धनको बाध्यता लोकतन्त्र विरोधी अहम्ताको प्रबृत्ति अन्त्यका लागि हो। हिजो कांग्रेसलगायत केही दलले संविधान संसोधनको प्रस्ताव ल्याएका थिए। नेकपा एमालेले यसलाई दिएन,’ खड्काले भने, ‘पूर्व प्रधानमन्त्री स्व। सुशिल काईरालाले देखेको सपना आम नेपाली जनताको सपना हो। त्यो पूरा गर्नका निम्ति पनि गठबन्धनलाई कायम गरी बहुमतमा संविधान संसोधन गरी कांग्रेसले जिम्मेवारी पूरा गर्र्नुपर्ने छ। संसोधनका माध्यमबाट सवैको साझा संविधान निर्माण हुनेछ।’ संविधानमा प्रत्यक्ष निर्वाचन प्रणाली नभएसम्म कुनै पनि दलको एकल बहुमत नआउने उनले जिकिर गरे। स्थानीय तह निर्वाचनमा घातलाई पार्टीले कारबाही गरेको र आउँदा दिनमा पनि गर्ने बताउँदै खड्काले नेता कार्यकर्तालाई विधि–विधान र अनुशासनमा बस्न आग्रह गरेका छन्।