मतगणना नसकिँदै काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी

  • ११ जेष्ठ २०७९, बुधबार
  • 639 पटक पढिएको

काठमाण्डौ ११ जेठ । काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ३५ प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो । यस अर्थमा बालेनले इतिहास रचेका छन् ।

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् ।

अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् । यसैबिच नवनिर्वाचित मेयर शाहले कुनैपनि उम्मेदवारलाई हारको संकेत समेत हुने गरि कुनै गतिविधि नगर्न आफ्ना शुभेच्छुकहरुलाई आह्वान गरेका छन् । उनले महानगरबासीले आफुलाई विश्वास गरेकोमा धन्यबाद दिँदै विश्वासमा जित हार नहुने बताउँदै बिजयीउत्सव मनाउने कुनै कार्यक्रम नराख्न आग्रह गरेका छन् ।