हारबाट विचलित नभएकी ज्योति

  • २५ बैशाख २०७९, आईतवार
  • 696 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन् । झन बढ्यो । जनप्रतिनिधी नभएपनि उहाँले राजनीतिकसँगै बेनीका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आवद्ध भएर योगदान गर्नुभयो । गत स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको उपप्रमुखमा उमेद्वार बनेकी लामीछाने राप्रपाकी सञ्जु बरुवालसँग ३४ मतले पराजित हुनुभएको थियो । त्यसबेला एमाले र राप्रपा तथा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । काँग्रेसका हरिकुमार श्रेष्ठ एमालेका प्रमोद श्रेष्ठलाई ४५ मतान्तररले पछि पार्दै बेनीको पहिलो जननिर्वाचित नगरप्रमुख बन्नुभएको थियो ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा काँग्रेस–माओवादी गठबन्धनबाट मेयरमा काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरमा माओवादीकी पौडेल उमेद्वार बन्नुभएको छ । “गत चुनावमा पराजित भएपनि जनताको दुखःसुखमा साथसाथै थिए,” पौडेलले भन्नुभयो “पार्टी र गठबन्धनले अवसर दिएको छ । जनताले विश्वास गरेर जनप्रतिनिधीको रुपमा सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।”

वि.स. २०७४ मा बेनीको जिल्ला प्रहरी कार्यालय परिसरमा समुदाय स्तरबाट आर्थिक र जिन्सी सहयोग जुटाएर दुई कोठे पिडित मैत्री आश्रयस्थल भवन निर्माण भएको थियो । ग्रामिण क्षेत्रका हिंसापिडित महिलाहरु उजुरी र न्याय प्रक्रीयाका लागि बेनी आउँदा खाने, बस्ने ठाउँ नहुने, थप असुरक्षित हुने समस्या हटाउन भवन निर्माणका लागि पौडेलले कोषाध्यक्ष पदमा रहेर सक्रीयतापुर्वक काम गर्नुभएको थियो ।

हिंसापिडित महिला, बालबालिकाको पैरवीका लागि प्रहरी, प्रशासनमा उहाँ धाइरहनुहुन्छ । ९०० जना सेयर सदस्य रहेको बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको पौडेलले दोस्रो कार्यकालका लागि अध्यक्षको नेतत्व गरिरहनु भएको छ । उहाँकै कार्यकालमा बेनीको गणेशटोलमा सहकारीको भवन निर्माण भएको छ ।

गण्डकी प्रदेशमै उदाहरणीय र नमुना बनेको दिदीबिहिनी सहकारीले सेयर सदस्यहरुबाट मुठ्ठिदान संकलन गरेर विपन्न, अशाहय, अशक्त महिला, बालबालिका र जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएको छ । महिलाहरु मात्र सञ्चालक र कर्मचारी रहेको सो सहकारीले लैङ्गिक हिंसा न्युनीकरण र विभिन्न जनचेतनामुलक कार्यक्रम पनि गरेको छ ।

पौडेल बेनपा–६ को थाकनपोखरी आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र जामुनाखर्क माविको व्यवस्थापन समिति सदस्य हुनुहुन्छ । पौडेलको कार्यकालमा थाकनपोखरी आधारभूतको नयाँ भवन लगायत भौतिक पूर्वाधार निर्माण, सिकाई उपलब्धी वृद्धी र विद्यार्थी संख्या बढेको छ ।

हालै कार्यकाल सकिएको बेनी अस्पताल ब्यवस्थापन समितिको सदस्य रहेकी पौडेलले विभिन्न विकास आयोजनाको उपभोक्ता समितिका पदाधीकारीमा रहेर सक्रीयतापुर्वक भूमिका निर्वाह गर्नुभएको छ । जिल्ला सहकारी संघ म्याग्दीका सचिव रहेकी पौडेलले गैरसरकारी संस्था महासंघको कोषाध्यक्ष पदबाट भने उमेद्वार बन्नुअघी राजिनामा दिनुभएको थियो । मिलनशार, स्पष्ट वत्ता, नम्र बोली ब्यवहार, भद्रता, शालिनता स्नातक तह अध्ययन गरेकी पौडेलको व्यक्तित्व हो ।

वि.स. २०५९ मा पर्वतको ठूलीपोखरी स्थित जनता सुर्दशन माविको अनेरास्ववीयू क्रान्तिकारीको इकाई सदस्य बनेकी पौडेल हाल अनेमसंघ क्रान्तिकारीको केन्द्रिय सदस्य र म्याग्दी जिल्ला अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । दुई दशकदेखि नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रीय पौडेल कुशल संगठक, योजनाकार र समन्वयकर्ताको रुपमा स्थापित हुनुभएको छ ।

काँग्रेस र माओवादीका उमेद्वारले बेनीलाई सम्बृद्ध, विकसित, सुरक्षित, ब्यवस्थित र शुसासनयुक्त बनाउने मुद्दा अघि सारेका छन् । उपप्रमुखकी उमेद्वार पौडेल महिला र युवालाई आयआर्जन, रोजगार र विकासमा परिचालन गरेर विकास तथा सम्बृद्धी हाँसिल गर्न सकिनुका साथै बेनीलाई ब्यापारिक र पर्यटकीय केन्द्र बनाउन सकिने दावी गर्नुहुन्छ ।

युवा र महिलाहरुलाई सिपमुलक तालिम दिएर दक्ष बनाउन सकेमा स्वदेशमै स्वरोजगार बनाउन सकिने सम्भावना छ । मुस्ताङ जाने र आउने पर्यटकलाई मात्र बेनीमा अडाउन, डुलाउन र भुलाउन सकियो भने पनि यहाँको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा धेरै सुधार गर्न सकिने पौडेल बताउनुहुन्छ ।

“पूर्वाधार विकासलाई अब आयआर्जनसँग जोड्नुपर्छ । सामाजिक र आर्थिक रुपान्तरणका लागि युवा नेतृत्वको आवश्यकता छ,” उहाँले भन्नुभयो “गाउँमा गाडीले बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पु¥याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउनुपर्छ ।”
२४ हजार ७११ जना मतदाता रहेको बेनी नगरपालिकामा १७ मतदान स्थल र २८ वटा मतदान केन्द्र छन् । गत चुनावमा बेनी नगरपालिकामा काँग्रेसका मेयरका उमेद्वार हरिकुमार श्रेष्ठले ५६७९ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले चार हजार ५५६ मत ल्याएका थिए ।
एमालेका प्रमोद श्रेष्ठले मेयरमा ५६३४ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले कुल ५३९३ मत ल्याएका थिए । मेयरका स्वतन्त्र उमेद्वार पृथीप्रसाद पुनले २६६ मत ल्याएका थिए । एमालेसँग तालमेल गरेका राप्रपाका सञ्जु बरुवालले ३९९५ मत ल्याएर बिजयी हुँदा १ नम्बर वडामा राप्रपाका वडा अध्यक्षका उमेद्वारले २२२ मत ल्याएका थिए ।
काँग्रेससँग तालमेल गरेका माओवादीका ज्योती लामिछाने पौडेलले उपमेयरमा ३९६१ मत पाउँदा हाल माओवादीमा रहेका स्वतन्त्र उमेद्वार सहित माओवादीका वडा अध्यक्षका उमेद्वारहरुले १७४२ मत ल्याएका थिए । गत चुनावमा बेनीमा एमालेले ८ र काँग्रेसले १ वटा वडा जितेका थिए । स्वतन्त्रबाट बेनपा–३ भकिम्लीको वडा अध्यक्ष जितेका पदम पुन अहिले माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।