रघुगंगामा ४२ पदमा १४१ जनाको उम्मेदवारी दर्ता
- १२ बैशाख २०७९, सोमबार
- 940 पटक पढिएको
म्याग्दी १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ८ वटा वडाका वडा अध्यक्ष र सदस्य सहित ४२ पदमा हुन लागेको निर्वाचनमा १४१ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा पाँच र उपाध्यक्षमा चार जनाको मनोनयन परेको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
अध्यक्षमा काँग्रेसबाट भवबहादुर भण्डारी, नेकपा एमालेबाट प्रेमबहादुर कार्की (दिपक), नेकपा माओवादी केन्द्रबाट मिना विक, नेश्नल मंगोल अर्गनाइजेशनबाट तुलप्रसाद गर्वुजा र स्वतन्त्र रुपमा रघुगंगा गाउँपालिका–२ का सागर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यसैगरि उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट रिम कटुवाल, नेपाली काँग्रेसबाट प्रेमकुमारी पुन, नेकपा एमालेबाट यामकुमारी गर्वुजा र स्वतन्त्र रुपमा रघुगंगा गाउँपालिका–२ का अनुरोध रिजालले मनोनयन दर्ता गराउनुभएको छ । वडा अध्यक्षमा ३१ जना, महिला सदस्य २३ जना, दलित महिला सदस्य २६ जना,वडा सदस्यमा ५२ जनाको मनोनयन परेको छ ।