पहिरोमै आठ जना आफन्त गुमाएको परिवार : ‘सन्तानसंगै गुमेको खुसी अझै फर्किएन’

  • ८ बैशाख २०७९, बिहीबार
  • कमल खत्री
  • 667 पटक पढिएको

कमल खत्री
बेनी, ८ वैशाख । रामसती श्रीपाली उमेरले ४८ बर्ष काट्नुभयो । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आउनुभएका श्रीपालीको परिवार आयस्रोतले निम्न बर्ग भएपनि सन्तोष नै थिए, खुसी नै थिए । तर यो परिवारको खुसी २०७७ साल असार २५ गते रातीको पहिरोले खोसिदियो । मध्यरातमा आएको भिषण बर्षासंगैको पहिरोले श्रीपालीको जेठा छोरा र जेठी छोरी सहित परिवारका आठ जनाको मृत्यु भयो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा पहिरोले ८ जना आफन्त गुमाएकी रामसती श्रीपाली आफ्ना विद्यालय उमेरका छोरा छोरीको साथमा ।

जेठा छोरा मिलन, बुहारी कमला सहित उनीहरका एक÷एक छोरा छोरी सुरज र सुरक्षा पनि पहिरोमा गुमे । उता सोहि रातीकै पहिरोमा परेर मराङको राम्चेमा बस्दै आएकी जेठी छोरी सुपना लामगाडे सहित उनका दुई छोरा आसिस, आयुस र छोरी आयुसाको मृत्यु भयो । ‘‘के भयो भयो, दुस्मनले जसरी पहिरोले मेरो परिवारमा उठिबास लगायो, जेठा छोराको वंश नै सकियो, जेठी छोरी पनि आफ्ना छोरा छोरी सहित पहिरोमा पुरिइन, यस्तो विपत्तिको चोट हामीलाई प¥यो कसैलाई नपरोस ’’–रामसतीले भन्नुभयो ।
पहिरो गएको रातको त्यो काहालीलाग्दो क्षण सुनाउन खोज्दा रामसतीका आँखा आँशुले भरिएका थिए । मनमा कहिल्यै नमेटिने चोट दिएको त्यो क्षण सुन्नेका लागि कहानी जस्तो लागेपनि उहाँका परिवारका लागि भने वास्तविक घटना हो, भोगाई हो । त्यो रातको पहिरोले मराङको विभिन्न स्थानमा १९ जनाको मृत्यु, दुई जना वेपत्ता, मालिका गाउँपालिका–१ बिममा ८ जनाको मृत्यु १ जना वेपत्ता र दुखुमा एक जना वेपत्ता भएका थिए । पहिरोले गाउँ क्षतविक्षत बनाएको थियो नै, त्यसैमा श्रीपाली परिवारलाई पनि थिलोथिलो बनाएर छाड्यो । पहिरोले करिब दुई बर्ष अघि सन्तानसंगै खोसिएको श्रीपाली परिवारको खुसी त अब फर्किदैन नै, तर दैनिकीलाई पुरानै लयमा फर्काउन समेत कठिन छ ।


पहिरोले उठिवास लगाएको परिवारलाई सम्हाल्न श्रीपालीलाई मुस्कील परेको छ । आफन्त गुमाएको पीडा त छँदै छ, त्यसैमा पनि परिवार चलाउने आय आर्जनको आधार नभएकाले यो परिवार आर्थिक संकटको भुमरीमा छ । सन्तानहरु गुमाएको पीडाबाट सम्हालिएर अघि बढ्नुपर्ने अवस्थाको सामाना गरिरहनुभएकी श्रीपालीले पाँच बर्ष अघि नै श्रीमान गुमाइसक्नुभएको थियो । सिकर्मी काम गरि घरपरिवारको पालनपोषण गदै आउनुभएका घरमुली नरबहादुर श्रीपाली विरामी भएपछि उपचारको क्रममा मृत्यु भएको थियो । ‘‘ टाइफाईड भएर बेनी हुँदै मनिपाल पु¥यायौ, रोगले चापेको रहेछ, आइसीयू कक्षमै करिब एक महिना भर्ना गरेर उपचार पनि ग¥यौ, साढे ४ लाख बढी सकियो, तर उहाँलाई बचाउन सकिएन’’–रामसतीले भन्नुभयो । ऋण नै खोजेर उपचार गरेपनि घरमुली नरबहादुरको मृत्यु भएपछि जेठा छोरा मिलन कतार गए ।


विदेशबाट फर्किएपछि फेरी विदेश नै जाने योजनामा थिए उनी । विदेश गएर घरपरिवारको व्यवहार मिलाउने उनको सपना उनीसंगै पहिरोले बगायो । रामसतीले अहिले गाउँमा अर्काको घर र सानो बारी किनेर परिवारको बसोबासको प्रवन्ध गर्नुभएको छ । सकारले दिएको राहत रकममा थपथाप पारेर ओत लाग्ने ठाउँ बनाएपनि परिवारको दैनिकीलाई सहज बनाउन नसकिएको उहाँको भनाई छ । उहाँको परिवारलाई स्थानीय सरकारको समन्वयमा सरकार र म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले पहिरो पीडितहरुको लागि बनाएको एकीकृत बस्तीमा सानो घर पनि उपलब्ध गराइएको छ ।


जिवनमा विरलै कसैले व्यहोर्ने वियोगको सामना गर्नुभएकी उहाँ अहिले स्कुले उमेरका कान्छा छोरा (११) सफल र कान्छी छोरी (९) शिखाको पढाईखर्च जुटाउन समेत निकै संघर्षको भुमरीमा पर्नुभएको छ । स्थानीय राम्चे आधारभूत विद्यालयमा सफल कक्षा ४ र शिखाले कक्षा ३ मा पढ्छन् । पहिरोले उनीहरुको आफन्त खोसेर लग्यो भने उनीहरुमा मनोवैज्ञानिक रुपमा त्रास र भयको छाप समेत छाडेको छ । पहिरोमै परेर घाईते भएका सफललाई पोखराको मणिपाल अस्पतालमा पु¥याएर उपचार गरि बचाइएको थियो ।


‘‘एक्कासी घर बगायो, मैले त आकास नै खसे जस्तो देखेँ, पछि पहिरोले बगाएपछि केहि थाहा पाईन, हात, कम्मर र टाउकोमा लागेको चोटको उपचार पछि निको भयो, आजभोली नी त्यो दिन सम्झना डर लाग्छ ’’ ११ बर्षका सफलले पहिरो जाँदाको रातको घटना सुनाए । माईली छोरीको विवाह भैसकेको छ । साईला छोरा दिपक र माईला खगिनले मजदुरी गरि घरखर्च जुटाउँदै आएको उहाँले बताउनुभयो । ‘‘स्कुल पढ्ने उमेरका छोराछोरीको पालन पोषण गर्न निकै कठिन भएको छ, अझ माथिल्लो कक्षामा पुगे भने कसरी पढाउने होला, अरु छोराछोरीले आर्थिक अवस्था कमजोर भएर पढ्न पाएनन, यि दुई छोराछोरीलाई कम्तीमा पढाउन पाए हुन्थ्यो’’–रामसतीले लामो सास फेर्दै सुनाउनुभयो । विपद्ले निम्त्याएको वियोग, संकट र समस्याको भुमरीमा हिम्मतका साथ अगाडी बढेपनि रामसतीको परिवारको दैनिकी लयमा फर्किन सकेको छैन् । रामसती आफैपनि स्वस्थ हुनुहुन्न ।


पटक पटक विरामी भैरहने भएकाले मजदुरी गर्न नसक्दा साहिलो र माहिलो छोराको भरथेकमा परिवारको खर्च जोहो गर्नुपर्ने बाध्यता छ । ‘‘ छोराछोरी साना छन, मेरो स्वास्थ्य विग्रीएको कुरा सुनाउन पनि त सक्दिन, अखिर के रहेछ र जिन्दगी ? मान्छे भएर जन्मेपछि दिन घचट्ने, काल पर्खिनु त रहेछ नी ?’’ उहाँले मनभित्रका पीडा सुनाउनुभयो ।
यता घरमा यस्तो विपत्ति आइपर्दा रामसतीका जेठी छोरीका श्रीमान ओमप्रसाद लामगाडे वैदेशिक रोजगारको क्रममा साउदीमा हुनुहुन्थ्यो । घरमा श्रीमती सहित छोरा छोरी र ससुरालीमा समेत जेठा दाईको परिवार नै पहिरोले पुरिएको खवर सुनेपछि विछिप्त हुनुभएका ओमप्रसाद गाउँ फर्किएर विगतको अकल्पनीय पीडा भुल्न खोजेपनि परिस्थिति सजिलो बनिदिएको छैन् ।


बाढी, पहिरो पीडितको लागि बनाइएको एकीकृत बस्तीमा दुई कोठा भएको साघुँरो घरमा स–परिवारका ८ जनाको बसोबास सहज नभएको उहाँको भनाई छ । ‘‘बस्ने घर र कमाएर खाने बारी पनि बाँकी राखेन, यहाँ साँघुरो घरमा संधैभरी यसरी नै बसेर जिविका चलाउने अवस्था पक्कै सम्भव छैन, यहाँ आय आर्जनका लागि रोजगार पनि छैन, केहि समयपछि फेरी विदेशतीर नै जाने होला’’–उहाँले भन्नुभयो ।

मराङमा पहिरोले पूर्ण रुपमा क्षति भएका १० परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) र १० घर सरकारी तवरबाट एकीकृत बस्तीको रुपमा निर्माण गरि पीडितहरुलाई उपलब्ध गराईएको धवलागिरि गाउँपालिका–६ मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार, तीन घरले आफै घर पुननिर्माण गरि बस्नुभएको छ ।पहिरो पछि लामो समय त पालमुनी नै बसेका पीडितहरु घर बनेर सुरक्षित आवासमा बस्न थालेपछि खुसी भएका छन् । सरकार र मोनाको पहलमा घरहरु बनेपछि तत्कालको लागि पीडितहरुलाई राहतको महशुस भएको पहिरो स्थानीय राम्चे आधारभूत विद्यालयकी शिक्षक समेत रहनुभएकी सविना विकले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l