बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ८ बैशाख २०७९, बिहीबार
- 999 पटक पढिएको
म्याग्दी, ८ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवार जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन कार्यालय स्थापना गर्नुभएको हो ।
कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, र भयरहित रुपमा सम्पन्न गराउन राजनीतिक दल, नागरिक समाज लागयत सरोकारवालाहरु भूमिका महत्वपूर्ण हुने बताए । निर्वाचनमा धेरै भन्दा धेरै मतदाताहरुको शहभागिता बढाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उन्को भनाई थियो ।
यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा ब्यवस्था भरपर्दो बनाउने बताए । उनले मतदाताले सुरक्षित रुपमा मतदान केन्द्रमा पुगेर मतदान गर्ने अधिकारलाई मतदानस्थलमा सुरक्षा ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । साथै, बेनी नगरपालिकासहित जिल्लामा रहेका गाउँपालिका अन्तरगत रघुगंगाको मौवाफाँटमा, अन्नपूर्णको पोखरेबगरमा, मंगलाको बावियाँचौरमा, मालिकाको दरवाङमा र धवलागिरीको मूनामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए ।
बेनी नगरपालिकामा जिल्लाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्याधिश तेजप्रसाद पौडेल, अन्नपुर्ण गाउँपालिकामा जिसस म्याग्दीकी जिल्ला समन्वय अधिकारी जानुका सुवेदी, मंगला गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका न्यायाधिबक्ता धर्मराज पौडेल, मालिकामा आन्तरिक राजश्व विभाग काठमाण्डौका उपन्यायाधिबक्ता गोविन्द उपाध्याय, धवलागिरी गाउँपालिकामा बैदेशिक रोजगार कार्यालय काठमाण्डौका निर्देशक हरिराम नागिला र रघुगंगा गाउँपालिकामा जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार तेजप्रसाद पौडेल तोकिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने छन् । साथै निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत काम गर्ने निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो । पालिका प्रमुख, उपप्रमुख वडाअध्यक्ष लगायत सदस्य पदमा उम्मेदवार दर्ता बैशाख ११ र १२ गते तोकिएको छ ।
जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेको संयोजनमा मुख्य निर्वाचन कार्यालय स्थापना कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख एमव् प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा पत्रकाहरुको उपस्थिति रहेको थियो ।
म्याग्दीका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालन गर्ने प्रतिवद्धता बुधबार भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा जनाएका छन् ।