बाँदुकमा सुन्तला र खायन आलुको व्यावसायिक खेति विस्तार (तस्वीर सहित)

  • ३० चैत्र २०७८, बुधबार
  • 1315 पटक पढिएको

म्याग्दी ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुक गाउँमा सुन्तला खेति र खायन आलुको व्यवसायिक खेति विस्तार गरिएको छ । सुन्तला खेतिको लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समुह’ गठन गरि सुन्तलालाई व्यावसायिक खेतिको रुपमा विस्तार गरिएको छ । समूहमा आबद्ध १६ जनाले खेतवारीमा कम्तीमा ५० देखि २ सय बोट सुन्तलाका बोट रोपणा गरेका छन् ।


नेपाल रेडक्रस सोसाईटीले आधारभुत तालिम र खेतिको लागि आबश्यक पर्ने सामाग्री खरिदको लागि सहयोग गरेपछि स्थानीय युवा काजु फगामीको अध्यक्षतामा समूह गठन गरि सुन्तला खेतिमा स्थानीय लागेका थिए । समूहलाई गाउँपालिकाले ५० प्रतिशत किसानको साझेदारी रहने गरि रु ५ लाख बराबरको बजेटबाट हाते ट्याक्टर, सिचाई पाईप, सिढी, आरी, सिकेचर लगायतका उपकरण सहयोग गरेको थियो ।


त्यसैगरि चालु आर्थिक बर्षमा सुन्तला खेति विस्तारका लागि गाउँपालिकाले समूहलाई रु ३ लाख बजेट उपलब्ध गराएको थियो । उक्त बजेटमा समूहले समेत रु ३ लाख थप गरि तालिमसंगै सुन्तला खेतिको लागि आबश्यक पर्ने, आरी, सिढी, स्प्रे मेसिन, ठुलो सिकेचर, सिचाई पाईप, ड्रम लगायतका सामाग्री गरिद गरिएको छ ।


समूहले कृषि ज्ञान केन्द्र, म्याग्दीसंग किसानको १० प्रतिशत साझेदारी रहने गरि रु २ लाख २२ हजार बजेटबाट सुन्तला खेतिको लागि सिचाई ट्यांकी र इन्टेक निर्माण र पाईप खरिद गरिएको छ । उक्त कार्यालयले रु १ लाख २० हजार बजेटबाट १० प्रतिशत किसानको साझेदारी रहने गरि थ्रेसर मेसिन र हाते ट्याक्टर समेत खरिद गरिएको छ ।
बाँदुक गाउँका स्थानीय सुन्तला खेति संगै व्यवसायिक आलु खेतिमा समेत आबद्ध भएका छन् । यहाँका स्थानीयले खायन आलुको व्यवसायिक खेति सुरु गरेका छन् ।

स्थानीय कृषक चुकबहादुर शेरपुजाको अध्यक्षतामा ‘बाँदुक खायन आलु समूह’ गठन गरि व्यावसायिक आलुतर्फ लागेका छन् । यस समूहले गाउँपालिकाको रु ६ लाख र समूहको रु ६ लाख साझेदारीमा २ सय रोपनी जग्गामा सामूहिक खायन आलुको खेति सुरु गरेका छन् ।


समूहमा आबद्ध भएका १७ जनाले आफ्नो जग्गा सहित अन्य जग्गा भाडामा लिएर समेत १५ हजार किलोग्राम आलुको विउ रोपेको समूहका सदस्य लक्ष्मण पुर्जाले जानकारी दिनुभयो । गाउँमा परम्परागत खेति छाडेर बाँझो रहेको जग्गामा सुन्तला र आलु खेति विस्तार भएको छ । गाउँमै व्यावसायिक खेतिमा स्थानीयलाई अग्रसर गराउन रेडक्रस, वडा, पालिका र कृषि ज्ञान केन्द्रले रचनात्मक सहयोग गरेको भन्दै समूहले धन्यबाद समेत दिएका छन् ।