रघुगंगामा स्वतन्त्र उम्मेदवार ! मुलधारको राजनीतिको वितिष्णाले जन्माएको बिद्रोह

  • २७ चैत्र २०७८, आईतवार
  • 1321 पटक पढिएको

म्याग्दी २७ चैत । समाजको परिवर्तन, विकास र नागरिकलाई राज्यको अनुभूति दिलाउने काम सरकारको हो । तर देशका मूलधारका राजनीतिले आम रुपमा नागरिकलाई त्यो अनुभूति दिलाउन सकेका छैनन् । मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए, राजा गएर जनताले नै शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुगे । नयाँ संविधान निर्माण हुँदै एकात्मक राज्यव्यवस्थाबाट मुलुक संघीय संरचनामा पनि रुपान्तरण भयो संघ, प्रदेश र स्थानीय गरि तीन तहमै जनप्रतिनिधि चुनिएर सरकार सञ्चालन पनि भए ।


तर आम रुपमा नागरिकले परिवर्तनको महसुश विरलै गर्न पाए । सडक खन्ने र भौतिक पूर्वाधार बनाउन कामलाई मात्रै विकासको रुपमा हेरियो । नागरिकको जिविकोपार्जनको सुधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका महत्वपूर्ण पक्ष ओझेलमा परे । यस्तै अनुभूति गर्दै विद्रोहमा उत्रिएका छन, रघुगंगा गाउँपालिका–२ भिरमुनीका युवा सागर भण्डारी । अध्ययन र सरकारी करार जागिरको अनुभव संगालेका भण्डारी रघुगंगा गाउँपालिकामा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको प्रत्यासी हुन् । उनले विगत एक बर्ष अघि देखि नै आफु गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा सहित मैदानमा छन् । झट्ट हेर्दा भण्डारीको उम्मेदवारीलाई मजाक र उच्च महोत्वकांक्षाको रुपमा लिएको पनि देखिन्छ ।

तर उनको उम्मेदवारी घोषणाको शिलसिला हेर्ने हो भने ‘मुलुकको मूलधारको राजनीतिप्रतिको वितिष्णाले जन्माएको एक विद्रोह’ को रुपमा लिन सकिन्छ । विकास र विकृति नियन्त्रणका लागि उनी राजनीतिमा युवाहरुलाई स्पेस ( ठाउँ) र अवसर दिनुपर्छ भन्ने मान्यता राख्छन् । २०७४ मा स्थानीय तह कार्यान्वयनमा आउँदा स्नातक तहको अध्ययन गर्दै गरेका भण्डारीले गाउँपालिकाभित्रका विद्यार्थीहरु संगठीत गर्ने, पालिकामा स्थानीय स्रोत र साधनको उपयोग गरि अनुसंधानलाई अघि बढाउने लक्ष्यका साथ २०७६ मा भगवतीका युवा विद्यार्थी सागर खत्रीको नेतृत्वमा रहने गरि ‘रघुगंगा विद्यार्थी मञ्च’ गठन गरे ।

अध्ययन गर्दै गरेका जागरुक रघुगंगाका विद्यार्थीहरुलाई अघि बढाउँदै उनले स्थानीय तहमा गाउँपालिकाको सबै विद्यालयमा शैक्षिक सुधार र आधुनिक शिक्षा प्रविधिको प्रयोगलाई कार्यान्वयनमा ल्याउने’ महत्वकाँक्षी योजना अघि सारे । गाउँपालिकाभित्रका हरेक वडाका विद्यार्थीहरु मार्फत आफ्ना वडा र पालिकाका जनप्रतिनिधिलाई यसबारेमा निरन्तर घचघचाउने काम गरे । तर सामुदायिक विद्यालयको गुणस्तर सुधारको महत्वपूर्ण आधार सहितको उनीहरुको प्रस्ताबलाई जनप्रतिनिधले सिधै अस्विकार नगरेपनि पाँच बर्षको अवधिमा कँहिकतै सुनुवाई गर्ने हिम्मत गर्न सकेनन् ।
‘‘हो हामीले समग्र गाउँपालिकाको विकासको सहयात्री बन्न चाहन्थ्यौ, हामीले देखेका सपना जनप्रतिनिधिलाई सुनायौँ पनि, पटक पटक सपना देख्न दबाब पनि दियौँ तर हाम्रो सपनाहरुमा मजाक नहोस भनेर सपना पुरा गर्न विद्रोह गरेका हौँ’’–भण्डारी भन्छन् । अहिलेको मूलधारको राजनीतिको बागडोर सम्हालेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुका नेताहरुबाट गाउँपालिकाको विकास र समृद्धिको वास्तविक खाका कोर्न र लागु गर्ने तत्परता नदेखिएपछि आफै राजनीतिमा होमिने अवस्थामा पुगेको भण्डारीको भनाई छ । तत्कालिन रघुगंगा विद्यार्थी मञ्चमै आबद्ध रहेका भण्डारी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा मञ्चमै आबद्ध अनुरोध रिजालले गाउँपालिका उपाध्यक्ष र रञ्जना श्रेष्ठ रघुगंगा –२ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भण्डारीले रघुगंगाको विकासको सम्भवना र चुनौतिको अध्ययन गरेर खोज अनुसंधानपत्र नै जनताको घरदैलोमा पु¥याएका छन् । उक्त स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको समूहले गाउँपालिकाको सबै बस्ती स्तरमा पुगेर जनतको गुनासाहरुको समेत दस्ताबेजीकरण सूरु गरिसकेको छ । ‘‘हामी निश्चित योजना र भिजन सहित गाउँपालिकाको नेतृत्व गर्न चाहन्छाँै, नकी कुनै व्यक्तिगत लाभका लागि , कालीगण्डकीको तीरदेखि रिखारको फेदीसम्मको विकासमा हाम्रो योजना सार्वजनिक रुपमा राखेका छाँै, अब कस्ता जनप्रतिनिधि चुन्ने जिम्मा जनताकै हातमा छ’’–उनले भने । स्वतन्त्र उम्मेदवार घोषणा गरेको यो समूहलाई ‘घरपरिवार चलाएको अनुभव नभएकाले सरकार चलाउन सक्लान र ?’ भन्ने प्रश्नहरु नतेस्रिएका होइनन्, तर उनीहरु कामै नगरेसम्म अनूभव हाँसिल हुन सक्दैन भन्ने उत्तरले गन्तव्यतिर लम्कीएका छन् ।

म्याग्दी जिल्लामा अहिलेसम्म स्वतन्त्र रुपमा अभियानको रुपमा उम्मेदवारी घोषणा गरेको यो समूह यतिबेला जिल्लाव्यापी रुपमै चर्चाको केन्द्रमा छ । खासगरि रघुगंगा गाउँपालिकाभित्रकै नेताहरु नेकपा एमाले र नेपाली काँग्रेसको जिल्ला नेतृत्वको पहिलो र दोस्रो तहसम्म र माओवादी र राप्रपाको समेत जिल्ला समितिको पदाधिकारी तहमा नेतृत्व रहेको पालिकामै आम रुपमै चर्चा बटुल्ने गरि स्वतन्त्र उम्मेदवारी आएपछि यसले थप बहस सिर्जना गरेको छ ।