स्थानीय तह निर्वाचन : म्याग्दीमा उम्मेदवार बन्न जनप्रतिनिधिकै होडबाजी

  • २५ चैत्र २०७८, शुक्रबार
  • 1067 पटक पढिएको

बेनी, २५ चैत । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा गरी २० राजनीतिक दल दर्ता भएका छन् । राजनीतिक दल संगै केहि स्वतन्त्र उम्मेदवारहरुले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

राजनीतिक दलहरुले वडा समिति मार्फत वडा र पालिका समिति मार्फत पालिकामा उम्मेदवारको पत्याशी रहेकाहरुको छनौट गर्न सुरु गरेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख, उपप्रमुख पदमा दलहरुले उम्मेदवारहरुको टुंगो नलगाएको भएपनि वडाहरुमा भने धमाधम उम्मेदवार छनौटलाई तीब्र पारेका छन् ।मंगलवारसम्म माओवादी केन्द्रले १२, काँग्रेसले १५ र नेकपा एमालेले १२ वटा वडामा वडा समिति मार्फत सर्वसम्मत रुपमा वडा अध्यक्ष पदका उम्मेदवार छनौट गरेका छन् । केन्द्रीय सत्तागठबन्धनमा रहेका पाँच दलहरुबिच चुनाबी गठबन्धन हुने घोषणा गरिएपनि के–कति भागबन्डामा उम्मेदवारी दिने ठोस सहमती भैसकेको छैन् ।

वडा दलहरुले आफ्नो तर्फको उम्मेदवारी छनौटलाई तीब्रता दिएका छन् । दलहरुबाट उम्मेदरवार बन्न जनप्रतिनिधि नै बढी इच्छुक देखिएका छन् । २०७४ सालको निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडा अध्यक्ष र स्थानीय तहको प्रमुख–उप–प्रमुखमा बिजयी भएका अधिकाँश नेताहरुबिचमा पुनः उम्मेदवार बन्ने होडबाजी नै चलेको छ । अहिलेसम्म उम्मेदवार छनौट भैसकेका वडाका उम्मेदवारहरुमध्ये वडा सदस्यदेखि वडा अध्यक्ष पुनः जनप्रतिनिधि नै दोहोरीएका धेरै छन् ।

माओवादी केन्द्रले यस अघि समेत वडा अध्यक्षमा निर्वाचित भएका दुई जनालाई पुनः निरन्तरताको लागि उम्मेदवार टुंगो लगाएको छ । हाल वडा अध्यक्ष रहनुभएका बेनी नगरपालिका–३ मा पदम पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुन ः अध्यक्ष पदको उम्मेद्वारमा टुंगो लगाएको हो । लोकप्रिय काम गरेका जनप्रतिनिधिलाई नै जनस्तरबाट आएको सुझाब अनुसार, उहाँहरुलाई अघि सार्दा जनताको मन जितेर काम गर्न सकिने निष्कर्ष सहित उहाँहरुलाई पुन ः उम्मेदवार बनाउन लागिएको नेकपा (माओवादी केन्द्र) म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले बताउनुभयो । मालिका गाउँपालिका–७ बिमका वडा अध्यक्ष समेत रहनुभएका जुग्जाली आफु मालिका गाउँपालिकाको अध्यक्ष पदको प्रत्याशीको रुपमा अघि बढ्नुभएको छ ।

रघुगंगा गाउँपालिका–२ मा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएका रिम कटुवाल समेत गाउँपालिका अध्यक्षको प्रत्याशी हुनुहुन्छ । नेकपा एमालेले वडा कमिटीहरु मार्फत उम्मेदवारहरुको टुंगो लगाउन सुरु गरेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमती हुन नसके बढीमा तीन आकांक्षीहरुको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, वडामा यस अघि बिजयी भएका जनप्रतिनिधिहरु धेरै जसो पुनः उम्मेदवार बन्न इच्छुक बनेका छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष कृष्णसिंह बानियाँ पुनः वडा अध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत हुनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुनः गाउँपालिकाको नेतृत्वमा इच्छुक देखिनुभएको छ ।

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले पुनः सोही पदमा दोहो¥याउने गरि उम्मेदवार बन्न पार्टीमा छलफल चलाउनुभएको छ । यस अघि मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खरमायाँ बिटालु यस पटक गाउँपालिका अध्यक्ष पदमै उम्मेदवार बन्ने लबिङमा हुनुहुन्छ । धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्याल समेत पार्टीबाट पुनः उम्मेदवार बन्न इच्छुक हुनुहुन्छ । एमालेले केन्द्रिय स्तरबाटै उम्मेदवारमा जनप्रतिनिधिलाई प्राथमिकता दिने निर्णय गरेको थियो ।

नेपाली काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरु समेत पुनः उम्मेदवार बन्ने प्रतिस्पर्धामा हुनुहुन्छ । वडा समितिबाट सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएकाहरुमध्ये रघुगंगा गाउँपालिका–१ बेगमा बिलप्रसाद फगामी, ५ झिँमा मनबहादुर शेरमञ्जा, ८ कुइनेमंगलेमा गमान छन्त्याल पुनः वडा अध्यक्षको लागि उम्मेदवार बन्ने निश्चित भएको छ । तीनै जना २०७४ को निर्वाचनमा वडा अध्यक्षमा चुनिनुभएको थियो । बेनी नगरपालिका–८ बाट वडा अध्यक्ष पदको उम्मेदवारमा यस अघि वडा सदस्य रहनुभएका हिमबहादुर भण्डारीलाई काँग्रेसले सर्वसम्मत रुपमा छनौट गरेको छ । मालिका गाउँपालिका–१ निस्कोटमा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई नै पुनः अध्यक्ष पदको उम्मेदवारको रुपमा छनोट गरीएको छ ।

रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी समेत पुनः काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्ने होडमा हुनुहुन्छ भने यहाँ काँग्रेसबाटै वडा नम्बर ३ का वडा अध्यक्ष जीवनकुमार मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष एमव काँग्रेस पालिका समितिकिा सभापती मनकुमार शेरपुञ्जा समेत गाउँपालिका अध्यक्षको प्रत्यासीको रुपमा हुनुहुन्छ । यहाँ काँग्रेसका पाँच जना पालिका अध्यक्ष उम्मेदवारको रुपमा दावेदारको रुपमा हुनुहुन्छ । अन्नपूर्ण गाउँपालिका–६ घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका अध्यक्ष पदमा उम्मेदरवार बन्न इच्छुक देखिनुभएको छ ।

मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका पुनः गाउँपालिका अध्यक्षमा उठ्ने कसरतमा हुनुहुन्छ । नेपाली काँग्रेसले गठबन्धनको टुंगो नलागेको कारण तत्काल पालिकाहरुबाट उम्मेदवार घोषणा नगर्न सर्कुलर गरेको छ । जिल्ला पार्टीले वडाहरुमा सर्वसम्मत रुपमा उम्मेदवार छनौट गर्न र हुन नसकेको खण्डमा पालिका समिति हुँदै जिल्ला कार्यसमितिमा आकाँक्षीहरुको नाम सिफारिस गर्न निर्देशन दिए बमोजिम उम्मेदवार छनौटको काम भैरहेको नेपाली काँग्रेस म्याग्दीका सचिब भरत रकालले जानकारी दिनुभयो ।

जिल्लामा मंगोल नेशनल अर्गनाइजेशनले समेत धमाधम पालिकाका उम्मेदवारहरुको टुंगा लगाउन सुरु गरेको छ भने अन्य दलहरु समेत उम्मेदवारी टुंगो लगाउने कसरतमा जुटेका छन् । अहिलेसम्म रघुगंगा–२ का सागर भण्डारी र अनुरोध रिजालले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा म्याग्दीमा मतदानका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । जिल्लाको ६ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।