म्याग्दीमा सत्तागठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने

  • २४ चैत्र २०७८, बिहीबार
  • 921 पटक पढिएको

बेनी २४ चैत । आसन्न स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले म्याग्दीमा समेत चुनाबी तालमेल गर्ने भएका छन् । विहिवार बेनीमा बसेको बैठकले जिल्लाको ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमती कायम गरेका हुन् । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को संयोजकत्वमा बसेको पाँच दलको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेद्धार बनाएर जाने सहमति गरेका हुन् ।


वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्धारको टुंगो लाग्ने कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । ‘सबै दलको वडा तहबाट रिपोर्ट आएपछि अर्को बैठक बसेर रिपोर्टको आधारमा म्याग्दीका सवै वडा र पालिकामा साझा उम्मेद्धार उठाउने निर्णय भएको छ ’,सचिव पुनले भन्नुभयो । म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिका स्तरीय संयन्त्र समेत निर्माण गरेका छन् ।

चुनाबी तालमेल गर्ने सैद्धान्तिक सहमती भएपनि कस्ले कहाँ उम्मेदवारी दिने भन्ने बिषयमा भने अझै टुंगो लागेको छैन् । बैठकमा काँग्रेस सभापती गर्वुजा, माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली,नेकपा एकिकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा,राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छबि विश्वकर्मा र जनता समाजवादीबाट देबेन्द्रबहादुर विश्वकर्मा सहभागि हुनुहुन्थ्यो ।

२०७४ को निर्वाचनमा जिसस उपप्रमुख सहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष , दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडा मध्ये १५ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको थियो । माओवादी केन्द्रले ७ वटा वडा अध्यक्ष जितेको थियो । त्यस्तै नेकपा एमालेले जिल्ला समन्वय समितिको प्रमुख सहित दुई गाउँपालिका अध्यक्ष ,तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडा अध्यक्षमा विजयी भएको थियो भने बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो ।