दुर्गमबस्ती कुईनेखानी पुगेको सडकको उद्घाटन

  • २४ चैत्र २०७८, बिहीबार
  • 807 पटक पढिएको

धनिलाल गर्बुजा

म्याग्दी, २४ चैत । रघुगंगा गाउँपालिका–८,कुईनेखानी गाउँमा पुगेको सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको दुर्गमबस्ती मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस सभापति गर्बुजाले जिल्लाका दुर्गम क्षेत्रमा सडक सञ्जाल, विद्युतिकरण सहितका अति आवश्यक पूर्वाधारका लागि निरन्तर बजेटको माग गरिएको बताउनुभयो ।‘कुईनेमा जोडिएको सडकले धेरै सुविधा थपिएको छ,‘अन्य समस्याहरुका बारेमा समेत सम्बन्धित निकायमा पुग्नेछु’ सभापति गर्बुजाले भन्नुभयो । उहाँले रघुगंगा र घवलागिरी गाउँपालिका जोड्ने सडक सञ्चाल समेत प्राथमिकतामा रहेको बताउनुभयो ।


सोही अवसरमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले सडकलाई स्तरोन्नति गरी बाहै्र महिना संचालन गर्न मिल्ने बनाउने बताउनुभयो ।‘हिमपात र बर्खाको समयमा हुने समस्या समाधानका लागि प्रतिबद्ध छौ, ‘गाउँलेको चाहना र पालिकाको सपना पुरा भएको छ’ अध्यक्ष भण्डारीले भन्नुभयो । सडक सञ्जाल जोडिएपछि गाउँमा उत्पादन हुने कृषिजन्य बस्तुको बजारीकरणमा समेत सहज भएको बताउनुभयो । उहाँले आगामी बर्ष गाउँसम्म केन्द्रिय विद्युतीकरण समेत गरिने बताउनुभयो । सोही अवसरमा रघुगंगाकी उपप्रमुख कमला तिलिजा, वडा अध्यक्ष गमान छन्त्याल, नेपाली कांग्रेसका उपसभापति केबी भण्डारी, प्रदेश क सभापति ओम छन्त्याल, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, समाजसेवी भरत छन्त्याल, चित्रमान छन्त्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।


रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण भएको हो । ठाडाखानी–भेडिखाल्टा–कुईने सडकखण्ड अन्तरगत थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिले सडक विस्तारमा चालु आवमा ९१ लाख १२ हजार ३०९ कुल लागतमा गण्डकी प्रदेश सरकारको समपुरक बजेटबाट ५० लाख, गाउँपालिका ३३ लाख ५० हजार रहेको समितिका अध्यक्ष च बहादुर छन्त्यालले बताउनुभयो ।‘सडकमा स्थानीय र सहयोगदाताको योगदान अतुलनीय रहेको छ,‘हामीलाई अव सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न सहज भएको छ’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।

सोही अवसरमा सडक विस्तारमा १२ लाख ६० हजार सहयोग गर्ने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र ४ लाख ५० हजार, चित्रमान छन्त्याल ३ लाख ५० हजार सहयोग गर्ने थमबहादुर छन्त्याललाई सम्मानपत्र प्रदान गरी सम्मान गरियो । सडक निर्माण भएपछि स्थानीयलाई आवतजावतका साथै,कृषि उपज लगायतका उत्पादन निर्यात तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा सहजका साथै बिरामीलाई उपचारमा निकै राहत मिलेको स्थानीयको भनाई छ । बाटो निर्माण समिति अध्यक्ष छन्त्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षाप्रेमी खिममायाँ छन्त्यालले स्वागत र पूर्ण छन्त्यालले सञ्चालन गर्नुभएको थियो । सडक गाउँमा पुगेको खुसीयालीमा स्थानीयबासीले नाचगान समेत गरेका थिए । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई १ दिन लाग्ने सडक पाँच घण्टामा छोट्टिएको छ । सदरमुकाम बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर रहेको छ ।