गलेश्वर– भगवती सडकमा निर्माण ब्यवसायी काममा फर्कियो

  • २३ चैत्र २०७८, बुधबार
  • 657 पटक पढिएको

म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक आयोजनामा एक महिनापछि निर्माण ब्यवसायी काममा फर्किएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले मजदुर र मेसिनहरु परिचालन गर्दै काममा फर्किएको हो ।

निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि एकमहिनादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको थियो। योजनालाई अधकल्चो बनाएर छाडेपछि जनप्रतिनिधि, राजनीतिक दल र कार्यालय प्रमुखको सक्रियतामा निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्कन ताकेता गरिएको थियो ।

पिप्लेदेखि भगवतीसम्मको ५ किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजनासहित मंगलबारदेखि निर्माण कम्पनीले कार्यक्षेत्रमा फर्किएर काम गरेको पुर्वाधार कार्यालयका प्राविधिक अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँले म्याद थप विषयमा कामको प्रगति हेरेर मन्त्रालयले निर्णय गर्ने बताउनुभयो ।

निर्माण कम्पनीकबाट परिचालित प्राविधिक रामु कंडेलका अनुसार दुलेपानीस्थित सडकमा सववेस राख्नका लागि सवग्रेट गर्ने काम सुरु गरिएको बताउनुभयो । उहाँले ग्रेटर रोलर, पानी ट्यांकी, जेसीभी रोलर र एक दर्जन मजदुर परिचालन गरिएको जानकारी दिनुभयो ।

निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भएपनि हालसम्मको योजनाको प्रगति ६५ प्रतिशत रहेको छ। अन्तीम पटक चालु आवको चैत मसान्तसम्म सिध्याउने प्रतिवद्धतासहित समयसिमा तोकिएको थियो ।

भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा २०७६ साल जेठ २८ गते ठेक्का सम्झौता भएको योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । हालसम्म कार्यालयले ११ करोड ६ लाख ४३ हजार भुक्तानी भएको छ । दशकअघि ट्याक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे बन्दा स्थानीयबासीलाई सास्ती हुँदै आएको छ ।