म्याग्दीका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
- २३ चैत्र २०७८, बुधबार
- 1015 पटक पढिएको
म्याग्दी, २३ चैत । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किन सुरु गरेको छ । वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ । दुई वर्षसम्म पर्यटक र तीर्थयात्रीविहीन बनेका यहाँका पर्यटकीय तथा धार्मिकस्थलमा फागुन दोस्रो सातायता दुई वर्षयताकै धेरै पर्यटक आएका पर्यटन व्यवसायीहरुले बताएका छन् ।
स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने र बागलुङ कालिका तथा पञ्चकोटमा आएका पर्यटक पनि म्याग्दीका पर्यटकीयस्थल हेर्न आउने क्रम बढेकाले म्याग्दीका आन्तरिक पर्यटक तथा धार्मिक पर्यटकको भीड बढेको हो । मुक्तिनाथ भ्रमण ढोरपाटन भ्रमण र बागलुङ कालिका मन्दिरको दर्शनका लागि आएका भक्तजन एक दिनको बसाइ लम्ब्याएर बेनीसम्म आई यहाँका पर्यटकीय र धार्मिकस्थलमा रमाउन थालेपछि विगतका वर्षभन्दा यस वर्षको फागुन र चैतमा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको हो ।
त्यसैगरी बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा आएका पर्यटक बेनी र बेनी नजिकका धार्मिक पर्यटकीयस्थलमा आएपछि यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप बढेको होटल यतिकी सञ्चालिका बिमला गौचनले बताउनुभयो । चैते दसँै सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बेनीलाई मानेर यहाँ आउने गरेकाले रौनक बढेको उहाँले बताउनुभयो ।
चैत दोस्रो सातादेखि म्याग्दीका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।