रघुगंगाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित

  • २२ चैत्र २०७८, मंगलवार
  • 988 पटक पढिएको

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो ।


विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको । ऐन, कार्यविधि र नियमावलीहरुलाई छलफल सहित सर्वसम्मत रुपमा पारित गरिएको थियो । सभाले २ वटा ऐन पारित गरेको छ । खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन– २०७८ र पालिका प्रहरी ऐन–२०७८ पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।


खानेपानी सम्बन्धी ऐनमा खानेपानीको मुहानको प्राथमिकता तोकिएको छ । गाउँपालिकाभित्र रहेका खानेपानीका मुहानहरुमा सबैभन्दा पहिलो खानेपानी र त्यसपछि सिचाँईलाई प्राथमिकता निर्धारण गरिएको छ । उक्त ऐन अनुसार खानेपानी उपभोक्ता संस्था स्थापना हुने बाटो खुलेको छ भने फोहोर व्यवस्थापनको लागि नीतिगत प्रवन्ध भएको छ ।
पालिका प्रहरी ऐनले गाउँपालिकाको सार्वजनिक संरक्षण, विपद् व्यवस्थापन, न्यायिक समितिको फैसला कार्यान्वयन र समाजका विकृति, विसंगतिको नियन्त्रणका लागि नियमावली बनाएर पालिका प्रहरी भर्ना गर्न सक्ने बाटो खुलेको छ । सभाले न्यायिक समितिको कारबाहीलाई किनारा लगाउँदा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ र खरिद नियमावली २०७५ लाई समेत संसोधन गरेको छ ।


सभाबाट सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्बन्धी कार्यविधि–२०७८, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि–२०७८, बाल क्लब गठन तथा परिचालन कार्यविधि–२०७८ र आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका –२०७८ पारित भएको छ । सभाले स्थानीय पाठ्यक्रमलाई स्वीकृत गरेको छ । गाउँ शिक्षा समिति, त्यसअन्तरगतका उपसमिित र कार्यदल हुँदै कार्यपालिका बैठकबाट पास गरेर सभामा प्रस्तत गरेको स्थानीय पाठ्यक्रम स्वीकृत भएसंगै आगामी शैक्षिक सत्रदेखि कक्षा १ बाट स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

सभाले रु ११ लाख ५९ हजार बराबरको सैदान्तिक बरुजुलाई नियमित समेत गरेको छ । स्थानीय तह निर्वाचनको मतगणनामा सिसीटिभी जडान गर्ने कार्यका लागि उपकरण जडानका लागि रु ५ लाख बजेट विनियोजन भएको छ ।
सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको पञ्चबर्षिय प्रगति समिक्षालाई समेत स्वीकृत गरिएको छ । सभामा अध्यक्ष भण्डारीले पाँच बर्षे कार्यकालमा गाउँपालिकामा भएका मुख्य उपलब्धीहरुलाई प्रगति समिक्षाको रुपमा प्रस्तुत गर्नुभएको थियो । पालिकाले पाँच बर्षको अवधिमा हालसम्म सम्पन्न गरेका प्रगति समेटेर समीक्षा पुस्तक प्रकाशन गर्ने अन्तिम तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।


अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले पालिकाले पाँच बर्षको अवधिमा गरेका उपलब्धीहरुको अभिलेखिकरण गर्नु सकरात्मक रहेको बताउँदै जनताको समस्या र गुनासा सम्बोधनमा स्थानीय तहको भूमिका रचनात्मक हुनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति केवी भण्डारी, नेकपा(एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्षहरु जिवनकुमार मल्ल, बिलबहादुर फगामी, मनकुमार शेरपूञ्जा, गमान छन्त्याल,देउप्रसाद पुन लगायतले मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष कमला तिलिजाले स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।