स्थानीय तह निर्वाचन : म्याग्दीमा दलहरु उम्मेदवार छनौटमा जुटे

  • २० चैत्र २०७८, आईतवार
  • 724 पटक पढिएको

बेनी, २० चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनौटमा जुटेका छन् । चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने बिषयलाई समेत छलफलको प्राथमिकतामा राखेका छन् । दलहरुबिच चुनाबमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म ठोस खाका बनिसकेको छैन् ।


नेपाली काँग्रेसले एक महिने जागरण अभियान सञ्चालन गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रले टोल कमिटी गठन र घरदैलो अभियान सञ्चालन गरेका छन् । राप्रपा र मंगोल नेशनल अर्गनाइजेशनले समेत उम्मेदवार छनौटको गृहकार्यमा जुटेका छन् । वडा र पालिकामा स्वतन्त्र उम्मेदवारहरु समेत खुल्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रले जिल्लाको १० वटा वडामा वडा अध्यक्ष पदको उम्मेदवार टुंगो लगाईसकेको छ । नेकपा एमालेले बेनी नगरपालिकाको तीन वटा वडामा वडा अध्यक्षको टुंगो लगाएको छ भने काँग्रेसले आन्तरिक रुपमा उम्मेदवार चयनमा जुटेपनि औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको छैन । विस २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित चुनावी अभियान संग संगै उम्मेदवार छनौटलाई समेत तिब्र पारिएको माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले जानकारी दिनुभयो । जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।

नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्र केसीले चुनाबी अभियान संगै आन्तरिक रुपमा वडा र पालिकाको उम्मेदवार चयनको प्रकृया समेत अघि बढेको जानकारी दिनुभयो । उम्मेदवार छनौटलाई मध्यनजर गर्दै चैत २५ गते भित्र उम्मेदवारहरुको सिफारिस गरिसक्न पालिका स्तरीय कमिटीलाई निर्देशन दिइएको बताउनुभयो । नेपाली काँग्रेसले समेत जागरण अभियान संगै उम्मेदवार चयनको प्रकृयालाई अघि बढाएको छ । काँग्रेस जिल्ला सभापति खमवीर गर्वुजाले वडा र पालिका कमिटीलाई उम्मेदवारहरुको नामावली सिफारिस गर्न भनिएको र छिटै नै उम्मेदवारहरुको टुंगो लाग्ने जानकारी दिनुभयो । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम भएको छ । जिल्लाको ६ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले अन्नपुर्ण गाउँपालिका– ८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका–५ चिप्लेटीको डिम्व आधारभूत र मंगला गाउँपालिका– १ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको बताउनुभयो ।

पालिका अन्तरगत १७ मतदानस्थल र २८ वटा मतदान केन्द्र रहेको बेनी नगरपालिकामा २४ हजार ७११ मतदाता छन् । १२ वटा मतदानस्थल र १६ वटा मतदान केन्द रहेको धवलागिरी गाउँपालिकामा १० हजार ९४० जना मतदाता छन् । आठ वटा मतदानस्थल र १७ वटा केन्द्र रहेको मंगलामा १३ हजार ४१६ मतदाता छन् । १४ वटा मतदानस्थल र १९ मतदान केन्द्र रहेको रघुगंगा गाउँपालिकामा १३ हजार ६४७ जना मतदाता छन् । ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ ज्ना मतदाता रहेका छन् भने, १४ मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपुर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता कायम भएका छन् ।

स्थानीय तहको निर्वाचनमा म्याग्दीमा २० राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । स्थानीय तह निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ पाटी मध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) रहेका छन् । राष्ट्रिय मान्यता प्राप्त लोकतान्त्रीक समाजबादी पाटी र जनता समाजबादी पाटीको प्रतिनिधि निर्वाचन कार्यालयमा सम्पर्कमा नआएको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालमा राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरु राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पाटी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी (समाजबादी), राष्ट्रिय प्रजातन्त्र पाटी, नेपाल दलित पार्टी, जनसमाजबादी पाटी नेपाल, विवेकशील साझा पाटी, नेपाल मजदुर किसान पार्टी, मौलिक जरोकिलो पाटी, उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पाटी दर्ता भएको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिुनभयो ।

निर्वाचन कार्यालयले कर्मचारीको विवरण संकलन गरेर श्रेणी/तह विवरण छुट्याउने र पालिकामा कति कर्मचारी छन् छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेश गर्ने तयारी गरिरहेको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो । मतदानको लागि मतपेटीका लगायतका सामाग्रीको तयारीमा कार्यालय लागेको छ । केन्द्रको निर्देशन गरेको कार्यतालिका अनुसार निर्वाचन केन्द्रित तयारीमा जुटेको उहाँको भनाई छ । चैत २९ गते नियुक्ति दिने गरी म्याग्दीका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

कार्यालयका अनुसार, बेनी नगरपालिकको समेत जिम्मेवारी सहित मूख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत म्याग्दीका जिल्ला न्यायाधिश तेजनारायण पौडेल रहनुभएका छ । अन्नपुर्ण गाउँपालिकामा जिल्ला समन्वय अधिकारी जानुका सुवेदी, मंगला गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका न्यायाधिबक्ता धर्मराज पौडेल, मालिका गाउँपालिकामा आन्तरिक राजश्व विभाग काठमाण्डौका उपन्यायाधिबक्ता गोविन्द उपाध्याय, धवलागिरी गाउँपालिकामा बैदेशिक रोजगार कार्यालय काठमाण्डौका निर्देशक हरिराम नागिला र रघुगंगा गाउँपालिकामा जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार तेजप्रसाद पौडेललाई निर्वाचन अधिकृतमा तोकिएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । यस अघि विस २०७४ को चुनावमा म्याग्दीमा ७१ म्तदानस्थल र ११० वटा मतदान केन्द्र थिए । २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७१ हजार ४६३ मतदाता थिए ।