स्थानीय तह चुनावमा बागलुङका पाँच दलबीच गठबन्धनको सहमति

  • २० चैत्र २०७८, आईतवार
  • 903 पटक पढिएको

बागलुङ २० चैत्र । बागलुङका सत्तारुढ गठबन्धन दलहरुबीच आसन्न स्थानीय तह चुनावमा तालमेलको सहमति भएको छ । आज बसेको पाँच दलीय गठबन्धनको बैठकले वडा सदस्यसम्मै मिलेर चुनाव लड्ने निर्णय गरेको हो । बैठकले चुनावमा गठबन्धन गर्ने केन्द्रको निर्णयको स्वागत र जिल्लास्तरमा सो को कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताउनुभयो ।

उहाँकाअनुसार बैठकबाट पालिकास्तरमा पाँच दलको स्थिति खुल्ने गरी प्रतिवेदन तयारीका लागि पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । जसमा काँग्रेसका तर्फबाट जिल्ला सचिव हरिहर शर्मा, नेकपा ( माओवादी  केन्द्र )का जिल्ला संयोजक ज्ञामनाथ गैरे ‘अनिल’, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, जनता समाजवादी पार्टीका कृष्ण शर्मा र नेकपा ( एकीकृत समाजवादी ) का गोविन्द गौतम रहनुभएको छ ।

सो कार्यदलले वडासम्म गठबन्धन दलहरुको अवस्था अध्ययन गरी केन्द्रमा प्रतिवेदन बुझाउनेछ । यस्तै चुनावी एकताको नीति र विधि तयका लागि पाँचै दलबाट दुई, दुई गरी दश जनाको नीति निर्माण कार्यदल गठन गरिने भएको छ । कार्यदलको प्रतिवेदनमाथि आवश्यक छलफल, परामर्शपछि अन्तिम रुप दिन र निर्णय गर्नका लागि गठबन्धनका प्रमुख नेताहरु सम्मिलित उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय पनि भएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले बताउनुभयो ।

उहाँले केन्द्रकै निर्देशन अनुसार जिल्लाका गठबन्धन दलहरुबीच आवश्यक गृहकार्य सुरु भएको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले चुनावमा गठबन्धन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको बताउनुभयो । “प्राररम्भिक गृहकार्य अघि बढेको छ, विधि, प्रकृयाबाटै तालमेलको टुङ्गो लाग्छ”, उहाँले भन्नुभयो । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् सदस्य प्रकाशराज बगालेले गठबन्धनको ढाँचाका विषयमा कार्यदलले तत्कालै काम थाल्ने बताउनुभयो । आपसी विश्वास र समझदारीका साथ गठबन्धनलाई तलसम्म व्यवस्थित गर्न बैठकमा सहभागी नेताहरुबीच एकमत बनेको उहाँको भनाइ छ ।

एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माले पाँच दल एकठाउँ उभिएर चुनावको सामना गर्ने बताउनुभयो । उहाँले सत्ता प्राप्तिका लागि मात्रै नभएर अहिलेको गठबन्धन राजनीतिक, वैचारिक आधारमा बनेको स्पष्ट पार्नुभयो । बैठकमा गठबन्धन दलका प्रमुख नेताहरु सहभागी थिए ।