माओवादीबाट बेनी नगरपालिका–३ मा पुन र ४ मा खड्का वडा अध्यक्षका उम्मेदवार

  • १९ चैत्र २०७८, शनिबार
  • 974 पटक पढिएको

म्याग्दी १९ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका– ३ र ४ मा वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको छ । शनिवार सम्पन्न वडा कमिटीको बैठकबाट बेनी नगरपालिका–३ भकिम्लीमा वडा अध्यक्ष पदमा पदम पुन र बेनी नगरपालिका–४ सिंगाको वडा अध्यक्ष पदमा अणबहादुर खड्का (भगवान) लाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।


दुबै वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षको टुंगो लगाएको र अन्य पदहरुमा समेत छिटै उम्मेदवारीको टुंगा लगाउने निर्णय भएको माओवादी केन्द्र नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार, नगरपालिका भित्रका अन्य वडाहरुमा समेत उम्मेदवारी टुंगा लगाउने आबश्यक तयारी भैरहेको छ ।

भकिम्लीमा वडा अध्यक्ष पदका उम्मेदवार बन्नुभएका पुन, वर्तमान वडा अध्यक्ष समेत हुनुहुन्छ । पार्टीको बेनी नगरकमिटी सह इन्चार्ज समेत रहनुभएका पुन स्थानीय स्तरमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । बेनी नगरपालिका– ४ को वडा अध्यक्षको उम्मेदवार बन्नुभएका खडका पार्टीका नगरकमिटी उपाध्यक्ष हुनुहुन्छ । अघिल्लो निर्वाचनमा समेत वडा अध्यक्ष पदमा उम्मेदवार बन्नुभएका खड्का एमालेका उम्मेदवारसंग झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

माओवादी केन्द्रले यस अघि मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढा, धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–१ निस्कोटमा तिलक पुन, मालिका गाउँपालिका–४ मा रेशम पुन, मालिका–७ बिममा रुविन जुग्जाली, धवलागिरी–७ ताकममा अशोक खत्रीलाई र अन्नपुर्ण गाउँपालिका– २ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई लाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।