रिटार्यड जिवन राजनीति मार्फत जनताको सेवामा सपर्मण गर्न चाहन्छु : नरबहादुर भण्डारी

  • १८ चैत्र २०७८, शुक्रबार
  • 675 पटक पढिएको

म्याग्दी १८ चैत । रघुगंगा गाउँपालिका–२ देउपूर्णका नरबहादुर भण्डारी रिटायर्ड जिवनलाई समाजसेवामा खर्चिरहनुभएको छ । भारतीय सैनिकबाट अवकास लिएपछि नेपालमा दिगो शान्ति स्थापनाको लागि तत्कालिन समयमा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)मा समेत खटिनुभएका भण्डारी त्यहिँबाटै माओवादी आन्दोलनको संघर्षबाट प्रभावित भएर पार्टीसंग जोडिनुभएको थियो ।

जागिर छाडेर गाउँ फर्किएपछि नै सामाजिक र गाउँका विकास निर्माणमा जोडिनुभएका भण्डारीलाई नेकपा (माओवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका–२ भगवतीको वडा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ । २०६४ सालदेखि औपचारिक रुपमा माओवादी पार्टीमा आबद्ध हुनुभएका भण्डारीले यस अघि पार्टीको वडा कमिटीको अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएको छ ।

हाल पार्टीको जिल्ला समन्वय समितिको सदस्य रहनुभएका भण्डारीलाई भगवतीमा पाका , परिपक्क र लोकप्रिय उम्मेदवारको रुपमा हेरिएको छ । ‘‘समाजमा व्याप्त असमानता र विभेद विरुद्ध माओवादीले गरेको संघर्षबाट प्रभावित भएर राजनीतिमा जोडिएको हुँ, रिटायर्ड जिवनलाई राजनीति मार्फत समाजको सेवामा खर्चिने प्रणका साथ निरन्तर क्रियाशिल छु’’–भण्डारीले भन्नुभयो ।

समाजको उत्पीडित बर्गको मुक्ति र मानिस–मानिस बिचमा हुने विभेद हटाउन माओवादीले गरेको आन्दोलनबाट प्रभावित भएर पार्टीमा जोडिनुभएका भण्डारीले आफु जनताको सेवक भएर काम गर्ने नै चुनाबमा आफुनो प्रमुख एजेण्डा रहेको बताउनुहुन्छ । विकासलाई योजनाबद्ध र व्यवस्थित गर्ने, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार संगै कृषि उत्पादनलाई प्रोत्साहन गर्न सकेमा वडाको जिवनस्तरमा सुधार ल्याउन सकिने उहाँको संकल्प रहेको छ ।

रिटार्यड समयलाई भण्डारीले गाउँको विकास निर्माणमा नै खर्चनुभएको छ । भण्डारीले सडक निर्माण, खेलमैदान, मठमन्दिर निर्माण, पदमार्ग, पर्यटन पूर्वाधार निर्माण लगायतका दर्जनौँ योजनाहरु सम्पन्न गर्न अगुवाई गर्नुभएको थियो । खरिटोल सुधार समितिको संयोजक समेत रहनुभएका भण्डारी भगवती खानेपानी व्यवस्थापन समितिको अध्यक्ष, भगवती स्वास्थ्य चौकी व्यवस्थापन समितिको उपाध्यक्ष लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा क्रियाशिल रहँदै आउनुभएको छ ।