मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु

  • १८ चैत्र २०७८, शुक्रबार
  • कमल खत्री
  • 1343 पटक पढिएको

म्याग्दी १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान निर्माण सुरु गरिएको हो ।

गाउँपालिकाको केन्द्रमा व्यवस्थित खेलमैदान नभएको अवस्थामा मन्त्रालयबाट बजेट प्राप्त भएपछि खेलमैदान निर्माण कार्य सुरु गरिएको क्लब अध्यक्ष बुद्धिबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार, खेलमैदानको लागि उपयुक्त जग्गा व्यवस्थापनमा कठिनाई भएपछि गाउँहुँदै बर्षातमा पानी बग्ने द्वारेखोलालाई जमिनमुनीबाट बगाएर मैदान बनाउने काम सुरु गरिएको छ ।

खोलाको दायाँबायाँका जग्गाधनीहरुले करिब ५० लाख बढी मुल्य पर्ने जग्गा निशूल्क उपलब्ध गराएपछि खोलालाई जमिनमुनीबाट बग्ने प्रवन्ध मिलाएर खेलमैदान बनाउन सुरु गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । पहिलो चरणमा मन्त्रालयबाट प्राप्त बजेटबाट खेलमैदानको लागि जग्गा सम्माउने काम सुरु गरिएको छ । लगत्तै खोला हुँदै बग्ने पानीलाई पक्की नालि बनाएर मैदानको मुनीहुँदै बग्ने पूर्वाधार निर्माण सुरु गरिने क्लबका सचिब थम बुद्धुजाले जानकारी दिनुभयो ।

३० मिटर लाम्बाई र २३ मिटर चौडाइको खेलमैदानमा प्याराफिट समेत निर्माण गरिने क्लबले जनाएको छ । खेलमैदान निर्माणका लागि द्वारेखालाको दायाँ र बायाँका जग्गाधनीहरु यामकुमारी गर्वुजा, सरस्वती पौडेल, नवराज सुवेदी, मेषबहादुर खत्री, गोविन्द बहादुर खत्री, कृष्णलाल शर्मा र मधु सुवेदी लगायतले जग्गा उपलब्ध गराएको क्लबले जनाएको छ ।

‘‘खोलालाई पक्की संरचना बनाएर अण्डरग्राउण्ड गर्ने र माथि मैदान बनाउने काम निकै खर्चिलो छ, मन्त्रालयबाट आएको बजेटबाट मात्रै यो सम्भव छैन, हामीले देशविदेशमा रहेका सहयोगदाता मार्फत समेत सहयोग जुटाएर खेलमैदानलाई सम्पन्न गर्ने योजना बनाएका छौँ’’–सचिब बुद्धुजाले भन्नुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l