मालिका गाउँपालिका –७ बिममा माओवादीबाट रुबिन जुग्जाली वडा अध्यक्षका उम्मेदवार

  • १७ चैत्र २०७८, बिहीबार
  • 693 पटक पढिएको

म्याग्दी, १७ चैत । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडातहबाट उम्मेदवार छनौटलाई तीब्र पारेको छ । जिल्लाको विभिन्न ७ वटा वडाहरुमा यस अघि नै वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको माओवादीले विहिवार मालिका गाउँपालिका–७ बिममा वडा अध्यक्ष पदका उम्मेदवारमा ३१ बर्षिय युवा रुबिन जुग्जालीलाई टुंगो लगाएको हो ।

वडा कमिटी अध्यक्ष होमबहादुर जुग्जालीको अध्यक्षतामा बसेको वडा कमिटीको बैठकले जुग्जालीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीको मालिका गाउँपालिका कमिटीका सदस्य र पूर्व शिक्षक समेत रहनुभएका जुग्जाली बिमको हिराजित स्मृति युथ क्लबका पूर्व सचिब समेत हुनुहुन्छ ।

युवामाझ लोकप्रिय छवि बनाउनुभएका जुग्जालीलाई वडा अध्यक्ष पदमा अघि सारेपछि अन्य पार्टीमा समेत उम्मेदवारबारे चर्चा सुरु भएको छ । बिममा यस अघिको वडा अध्यक्षमा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहनुभएका रेशम जुग्जाली निर्वाचित हुनुभएको थियो । यसअघि माओवादी केन्द्रले धवलागिरि गाउँपालिका ७ को वडा अध्यक्षमा अशोक खत्री, धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–१ निस्कोटमा तिलक पुन, मालिका गाउँपालिका–४ मा रेशम पुनलाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।

त्यसैगरि बेनी नगरपालिका– ३ भकिम्लीमा हालका वडा अध्यक्ष पदम पुन र अन्नपुर्ण गाउँपालिका– २ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई पुनः वडा अध्यक्ष पदको उम्मेदवारमा दोहोराउने टुंगो समेत लगाइसकिएको छ । विस २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित चुनावी अभियान संग संगै उम्मेदवार छनौटलाई समेत तिब्र पारिएको छ । जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।