बेनी नगरपालिकामा पुँजीगत खर्च ३१ प्रतिशत

  • १७ चैत्र २०७८, बिहीबार
  • 545 पटक पढिएको

म्याग्दी, १६ चैत । चालु आर्थिक बर्षको आठ महिनामा बेनी नगरपालिकामा पुजीगत खर्च ३१ प्रतिशत भएको छ । नगरपालिकामा पुँजीगततर्फ रहेको २५ करोड ३९ लाख ११ हजार रुपैया कुल बजेटमध्ये ७ करोड ९४ लाख ६९ हजार ८६९ रुपैयाँ बजेट खर्च भएको हो ।

नगरपालिकाको ४ सय ६९ वटा योजनाहरु र संघ र प्रदेशकोसहित चालु आवमा कुल ५ सय वटा योजनाहरु रहेको सूचना अधिकारी युवराज थापाले जानकारी दिए । विकास निर्माणमा योजना शाखाका अनुसार कुल योजनामध्ये २८२ योजना सम्झौता भएकोमध्ये १३५ योजना सम्पन्न भएर भुक्तानी भएको छ । भने, २१८ वटा योजना सम्झौता हुन बाँकी रहेको सूचना अधिकारी थापाले बताए ।

नगरपालिकामा चालु आर्थिक बर्षमा ७० करोड ८४ लाख २३ हजार रुपैया कुल बजेट रहेको छ । जसमध्ये, चालुमा ४५ करोड ४५ लाख १२ हजार रुपैया बजेट रहेको थियो । चालुतर्फ आठमहिनामा २५ करोड ५० लाख ८५ हजार २२६ रुपैया बजेट ( ५६.१२ प्रतिशत ) खर्च भएको बेनी नगरपालिकाले जानकारी दिएको छ । चालु र पुँजीगत गरी कुल ३३ करोड ४५ लाख ५५ हजार रुपैया बजेट खर्च पहिलो र दोस्रो चौमासिकमा भएको छ ।

बेनी नगरपालिकाले चालु आवको आठ महिनामा आन्तरिक आयतर्फ १ करोड ९७ लाख ५३ हजार ४०२ रुपैया गरेको छ । सरकारले आर्थिक बर्ष अन्तिम चौमासिकमा हुने विकास निर्माणमा खर्च हुने प्रवृतिमा सुधारका कार्यक्रम गरिरहेपनि चालु आर्थिक बर्षको आठ महिना वितिसक्दा खर्च गर्ने प्रवृत्ति सुधारमा नगरपालिका जनप्रतिनिधि र कर्मचारीले ढिलासुस्ती गरेको देखिन्छ ।