धवलागिरि –७ मा माओवादीबाट अशोक खत्री वडा अध्यक्षका उम्मेदवार

  • १६ चैत्र २०७८, बुधबार
  • 933 पटक पढिएको

म्याग्दी, १७ चैत । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडातहबाट उम्मेदवार छनौटलाई तिब्र पारेको छ । धवलागिरि गाउँपालिका ७ को वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षमा अशोक खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटी अध्यक्ष समेत रहनुभएका खत्रीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएपनि अन्य सदस्यहरुको टुंगो भने सबै क्षेत्रलाई समेटेर छिटै लगाउने तयारी गरिएको छ ।

पार्टीको गाउँपालिका कमिटीका अध्यक्ष यामन रोका र इन्चार्ज खुमनाथ सुवेदीको समेत उपस्थितिमा बसेको बैठकले वडामा पार्टीका उम्मेदवारहरुलाई बिजयी गराउन प्रचार प्रसारलाई समेत तिब्रता दिने निर्णय गरेको छ । खेलाडीको समेत पहिचान बनाउनुभएका समाजसेवी खत्रीका परिवारले वडा कार्यालय भवन निर्माणको लागि जग्गा समेत उपलब्ध गराउनुभएको थियो ।

यस अघि माओवादी केन्द्रले धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन , रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी , मालिका गाउँपालिका–१ निस्कोटमा तिलक पुन, मालिका गाउँपालिका–४ मा रेशम पुनलाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ । त्यसैगरि बेनी नगरपालिका– ३ भकिम्लीमा हालका वडा अध्यक्ष पदम पुन र अन्नपुर्ण गाउँपालिका– २ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई पुनः वडा अध्यक्ष पदको उम्मेदवारमा दोहोराउने टुंगो समेत लगाइसकिएको छ ।

विस २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित चुनावी अभियान संग संगै उम्मेदवार छनौटलाई समेत तिब्र पारिएको माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले जानकारी दिनुभयो । जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।